Comments Add Comment

बजारको बीचमा परेवाको दरवार: मर्मत सम्हारमा चुक्दा मासिदै परेवा

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थीत यासोक बजारको परेवा परेवाको दरवार छ। आन्तरिक र बाह्य पर्यटकहरुले परेवाको दरवार आसपासमा सेल्पी खिच्ने र फेसबुकमा फोटो पोष्ट गर्ने गरेका छन। यासोक बजारको आकर्षणको बिन्दु भनेकै परेवाको दरवार हो। त्यही दरवार जस्तै गुँडको मर्मत सम्हार नहुँदा परेवा मासिदै जानथालेका छन। परेवाको लागि उपयुक्त गुँड निर्माण नहुदा बच्चा भूईमा झर्ने र मर्ने गरेका छन। गाउँपालिकाले वर्षेनी परेवा संरक्षण र दाना व्यवस्थापन समिति मार्फत परेवाको चारोका लागि बजेट बिनियोजन गर्दै आएको छ। परेवाको दाना र पानीको व्यवस्थापन भए पनि उपयुक्त गुँड मर्मत र सरसफाइ मा ध्यान नदिदा परेवा भूईमा झर्ने र मर्ने गरेका हुन। 
साँगुरो गुँड भएकाले परेवा असुरक्षित हुने र बिभिन्न रोगको प्रकोपले पनि मर्ने गरेका छन। भूईमा झरेर घाइते भएका परेवालाई गुँडमा राख्न नसक्दा मर्ने गरेको स्थानीय व्यवसायी तेज बहादुर बोहोराले बताए। पहिले पहिले कतिपय परेवा बिरालो र कुकुरले खाने गरेको थियो। तर अहिले त्यो कम भएपनि मर्ने क्रम चाहीँ बढेको बोहोराले बताए। “आजभोली बच्चाको संख्या धेरै भएर हो या अन्य कारणले हो दैनिक ४ देखि ५ वटा परेवा मर्ने गरेका छन। बोहोराले भने मरेका परेवा र बाँचेका परेवा जुन भूँईमा झन्छन् ति परेवा मर्ने गरेका छन। यस्तो अवस्थामा गाउँपालिकाले गुँड मर्मत र सरसफाइमा ध्यान दिनुपर्छ।’
गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ को १० लाख बजेटबाट सिमेन्टको पिलरमा काठको तला थपेर गुँड निर्माण गरेको थियो। गुँड निर्माण गरी परेवाको संरक्षण गर्न भन्दै दान पेटीका समेत स्थापना गरेको थियो। तर त्यो अझै पनि प्रभावकारी बन्न सकेको छैन । २०७७ सालदेखि गाउँपालिकाले पशुपंक्षी शाखा प्रमुखकको नेतृत्वमा परेवा संरक्षण तथा दाना व्यवस्थापन समिति गठन गरी परेवाको दाना व्यवस्थापनको बजेट छुट्याउँदै आएको थियो । हाल गाउँपालिकाको पशुपंक्षी शाखा प्रमुख डा. नगेन्द्र प्रसाद दाहालको नेतृत्वमा परेवा संरक्षण तथा दाना व्यवस्थापन समितिले काम गर्दै आएको छ। समितिले आर्थिक वर्ष २०७९।०८० मा गुँड मर्मत सम्हार गर्न प्राविधिक स्टमेट तयार गरी १३ हजार रकम छुट्याएको थियो। तर सो रकमले गुँड मर्मत गर्ने श्रमिक नपाएपछि मर्मत गर्न सकेको छैन। क्रमश परेवाको संख्या बढ्दै जानु, गुँड सरसफाइ नगर्नु र हुर्किएका बच्चाको उचित व्यवस्थापन नहुदा परेवा मासिने क्रम बढेको स्थानीय बताउँछन् । 

वर्षेनी परेवाको चारो व्यवस्थापन गर्न समितिकै सदस्य रमेश बुढाथोकीलाई जिम्मा दिएको छ। तर आवश्यक रकम पालिकाले बिनियोजन नगर्दा चारो दिन मात्रै पुग्ने गरेको उनि बताउछन्। साँगुरो गुँड हुदा परेवा भूईमा झर्ने गरेका छन। उनले भने झरेका परेवा गुँडमा राखे पनि पुनः झर्ने गरेको उनको भनाई छ। गुँड मर्मत गर्न १३ हजार बजेट कम भएकाले बढि बजेट छुट्याएर पालिकाले काम गर्नु पर्ने बुढाथोकीको भनाई छ।
२०२३ सालमा तत्कालिन सिपाही राम बहादुर श्रेष्ठले परेवाको गुँड निर्माण गरी परेवा संरक्षण गर्न सुरुवात गरेको स्थानीय समाजसेवी चन्द्र प्रसाद निरौलाले बताए । उनका अनुसार पञ्चायतकालदेखि सुरुवात गरेको परेवाको गुँड संरक्षण गर्न स्थानीय व्यवसायीहरुले रकम समेत संकलन गरेका थिए । २०२१ सालदेखि लागेको त्रिशाली पुजा एवंम मेलाको अवसरमा कुम्मायक धार्मिक स्थलमा उडाएका परेवाको संरक्षणको लागि गुँड निर्माण गरी संरक्षण गर्न थालिएको थियो। अहिले ५८ वर्षको पुरानो गुँड हटाएर नयाँ गुँड निर्माण गरिएको छ। तर परेवाको लागि उपयुक्त गुँड निर्माण नभएको पहिले देखि आफैले कुरा उठाएको निरौला बताउछन् । परेवाको गुँडमा अहिलेको अवस्थामा ६५ जोर परेवा रहेको अनुमान गरिएको छ । परेवाको संरक्षण गर्न स्थानीय सरकारले चासो दिनुपर्ने सरोकारवालाहरु बताउछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ