Comments Add Comment

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

राष्ट्रिय समाचार समिति (रासस)

मष्टा (बझाङ), २७ साउन : जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा हुनुहुन्छ, ८९ वर्षीया गिठीदेवी जोशी ।

गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाउनुभयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुनुहुन्छ । उहाँ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताबिहीन हुनुहुन्थ्यो । सरकारले दिने सेवाबारे उहाँ जानकार हुनुहुन्नथ्यो जसले उहाँ सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । “आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ”, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भन्नुभयो ।

नातिभन्दा पछि बज्यैको नागरिकता

मष्टा गाउँपालिका-३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याउनुभयो । जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याउनुभएको थियो । तर, उहाँबाट केही सन्तान भएन । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिनुभएको थियो गौरीलाल । उहाँ अहिले ६१ वर्षको हुनुभयो ।

गौरीलालले २०४२ सालमै नागरिकता लिनुभयो । गौरीका छोरा छोरी पनि नागरिकता लिइसक्नुभएको छ । कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाउनुभएन । पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ । उहाँले भन्नुभयो, “सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन ।”

गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उहाँहरूले घरमै आएर नागरिकता दिनुभएको गौरीलालले बताउनुभयो । ---

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ