रमेश थापा यासोक
यासोक - पाँचथरको कुम्मायक गाउँपालिकाका अग्नी पीडितलाई राहत बितरण गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी बाल हेल्पलाईन मानव अधिकार मञ्च ईलामले गाउँपालिकाका पाँच अग्नी पीडितलाई राहत बितरण गरेको हो । मञ्चले कुम्मायक-१ का झरेन्द्र खतिवडा, यामबहादुर सार्की, खगेन्द्र गर्तौला, सर्मिला लावती शेर्मा र टेक बहादुर दर्जीलाई ८६ हजार २ सय रुपैयाँको राहत बितरण गरेको हो । आगलागीबाट पाँच परिवारका १८ वर्षमूनिका ११ बालवालिकाहरु प्रत्यक्ष प्रभावित भएको भन्दै कुम्मायक १ नं. वडाले बाल हेल्पलाईन इलाममा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा पाँच परिवारका ११ बालवालिकाहरुलाई राहत प्रदान गरिएको बाल हेल्पलाईनका प्रमुख भक्त थामीले जानकारी दिनुभयो ।

राहत बितरण कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले पीडित परिवारको घाउमा मलमट्टी लगाएर ठुलो सहयोग गरेको भन्दै हेल्पलाईनको प्रशंसा गर्नुभयो । अग्नी पीडित परिवारलाई बाल हेल्पलाईनले खाद्यन्य, लत्ताकपडा लगायतका सामाग्री बितरण गरेको थियो । गत शनिवार साँझ भएको आगलागीबाट यासोक बजारका झरेन्द्र खतिवडाको घर सहितको व्यवसाय नष्ट्र भएको थियो । सोही घरमा डेरा लिएर बस्दै आएका अन्य चार गरी पाँच व्यवसायीको व्यवसाय नष्ट्र भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता आचार्य र प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी र वडा अध्यक्ष देबेन्द्रकुमार लावतीको उपस्थीति रहेका थियो ।
.png)