Comments Add Comment

अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे

वालिङ, ९ फागुन :

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताउनुभएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उहाँले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताउनुभएको हो।

प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उहाँले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताउनुभएको हो।

“म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु”, उहाँले भन्नुभयो, “तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”

जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उहाँले बताउनुभयो। भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयवासीले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उहाँले बताउनुभयो।

खेल जीवनको अभिन्न अङ्ग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो।

गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, निर्मला थापा, निवर्तमान प्रदेशसभा सदस्य मोहन रेग्मी, गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइरालालगायतले प्रतियोगिताको सफलता साथै निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। कालीगण्डकी पालिकास्तरीय प्रतियोगिता भोलि सकिने छ । –––

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ