Comments Add Comment

सेनाको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

लहान, २५ वैशाख :

नेपाली सेना र सञ्चारक्षेत्र बीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेसागत सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सेनाको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आजदेखि सिन्धुली जिल्लाको सदरमुकामस्थित श्री नं ९ वाहिनी अड्डामा सुरु भएको छ ।

नेपाली सेनाको बागमती प्रदेश मध्यपृतना हेडक्वार्टरको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २० जना संवाददाताहरु सहभागी रहेका छन् । उक्त कार्यक्रम २८ गतेसम्म सञ्चालन हुने यहाँका वाहिनीपति सहायक रथी शक्तिजङ्ग बस्नेतले बताउनुभयो ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले कार्यक्रमको शुभारम्भ गर्दै नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा नेपाली सेनासम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

“जनताको सङ्गठित शक्ति भनेकै सेना हो । आफ्नो देशको सेनाका बारेमा सुसूचित हुने अधिकार जनतालाई छ”, सहायक रथी भण्डारीले भन्नुभयो, “जनता र सेनाको बीचमा पुलका रुपमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्दछ ।” साथै उहाँले यस प्रकारको कार्यक्रमले रक्षा संवाददताहरुलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा थप सहजता एवं स्पष्टता प्रदान हुने विश्वास पनि व्यक्त गर्नुभयो । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ