Comments Add Comment

बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

जानकी, १६ जेठ :

“हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लाग्नुभएका उहाँले भन्नुभयो, “पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।”

थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उहाँको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उहाँले बताउनुभयो । “एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्”, उहाँले भन्नुभयो, “घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू ।”

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउनुहुन्छ । “भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ”, उहाँले भन्नुभयो, “सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ ।” वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उहाँको भनाइ छ।

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आउनुभएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताउनुभयो । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उहाँले मासिक रु १० हजार पाउनुहुन्छ । उहाँका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको रु १० हजारले घर चलाउन गाह्रो छ । “दश हजारले के नै हुन्छ र ? त्यैपनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।”

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत हुनुहुन्छ फटाहु थारू पनि । उहाँ ४० वर्षको हुनुहुन्छ । उहाँले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताउनुभयो । “वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ”, उहाँले भन्नुभयो, “यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।”

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताउनुभयो । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उहाँलाई भने वन हेरालु नै हुन मन परेको छ । “महिनाको जम्मा रु १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा । तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ”, उहाँले भन्नुभयो, “पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु । वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन् । उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु ।”

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताउनुभयो । चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उहाँको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन् ।

विसं २०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बन्नुभएका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरु गर्नुभएका अजोद्धयाको मासिक तलब रु १५ हजार छ । वनको रेखदेख गरेवापत उहाँले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उहाँ बताउनुहुन्छ । विसं २०७०÷७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ