रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि योजना छनोट अघि बढाएको छ। पाँच वटा वडा भएको गाउँपालिकाले वडागत रुपमा कार्यक्रम संचालन गरी साविक टोलमा योजना छनोट प्रकृया अघि बढाएको हो।
सबै भन्दा पहिला कुम्मायक –१ नंम्बर वडा कार्यालय आगामी आर्थिक बर्ष को बजेट बनाउन जुटेको छ। संघिय सरकारबाट पालिकाले बजेटको सिलिङ पाएपछि वडाले टोल भेला मार्फत आगामी आ.व. २०८०/०८१ को लागि योजना छनोट गरेको हो। वडाअध्यक्ष देबेन्द्र लावती सहित वडासदस्यको टोली योजना छनोट गर्न साविक टोलमा जुटेको हो।
गाउँपालिकाले आगामी असार १० गतेसम्ममा बजेट ल्याउनु पर्ने बाध्यतालाई मध्य नजर गर्दै वडागत योजना छनोट अघि बढाएको हो। वडामा बजेट प्राप्त हुनु पूर्व अन्य तयारीको लागि वडाले योजना छनोट कार्यक्रमलाई अघि बढाएको वडाअध्यक्ष लावतीले बताए। वडाले बजेटको सिलिङ प्राप्त नगरेको अवस्थामा पनि नागरिकको गाँस, बास र कपासंग जोडिएका बिषयमा टोल–टोलमै पुगेर आगामी कार्यक्रम र योजना बनाउनु पर्छ भन्ने उदेश्यले योजना छनोट गरेको लावतीको भनाइ छ।
त्यस्तै कुम्मायक गाउँपालिकाका अन्य ४ वटा वडाले पनि टोल भेला मार्फत योजना छनोटका कार्यक्रम अघि बढाएका छन। टोल–टोलमा नागरिकले पूर्वाधार निर्माण अन्तरर्गत, सडक, भवन, खानेपानी र सिचाँही कुलो निर्माणको लागि योजना माग गर्ने गरेको कुम्मायक २ का वडाअध्यक्ष बालकृष्ण शेर्माले बताए। अधिकाम्सले योजना माग गर्दा अन्य विषयलाई भन्दा पनि बढि मात्रमा पूर्वाधार क्षेत्रको माग गरेको कुम्मायक ५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले जनाए। साविक टोलमा भएका समस्याको प्राथमिकताको आधार र अधुरा योजना पूरा गर्नुपर्ने तर्फ सुझाव संकलन गरिएको उनको भनाइ छ। त्यसैगरी कुम्मायक ३ र ४ नं. वडा पनि वडागत बजेट निर्माणमा जुटेका छन। दुबै वडाले सुझाव र स्थानीयको माग संकलन गर्दै आएको बताएका छन।
.png)