पोखरा, ३० असार। गैर आवाशीय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका)ले निरा छन्त्याल र मनोज थापाका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
अघिल्लो वर्ष माघ १ गते पोखरामा दुर्घटना भएको यति एअरलायन्समा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई एनआरएनए अमेरिकाले आर्थिक सहयोग गरेको हो । साथै पुस १६ गते अमेरिकामा गाडी दुर्घटनामा मृत्यु भएका मनोज थापाका परिवारलाई पनि एनआरएनले सहयोग गरेको हो ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले पोखरामै पुगेर आर्थिक सहयोग गरेका हुन् । अध्यक्ष लम्सालका अनुसार एनआरएनए ग्लोबल फाउन्डेसनको माध्यमबाट निराका परिवारलाई सहयोग गर्न १०८३ अमेरिकी डलर (एक लाख ३९ हजार ७६ रुपैयाँ र मनोज थापा सहयोगार्थ रकम ४४० अमेरिकी डलर (५७ हजार ४५ रुपैयाँ) संकलन भएको थियो ।
आर्थिक सहयोग हस्तानतरण कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र पोखरा महानगरपालिकाका प्रवक्ता मतिराज तिमल्सिना, स्थानीय समाजसेवी, सञ्चारकर्मीलगायत उपस्थित थिए । अध्यक्ष लम्साले सामाजिक कार्यका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
'यस घडीमा एनआरएनए अमेरिकाका सहयोगी मनहरु जसले नेपालको बारेमा संधै सोच्ने मात्र नभई सामाजिक, प्रविधिक तथा आर्थिक सहयोग गरिरहन्छन्, सबैलाई सम्झदै आजको यो संकलित रकममा सहयोग पुर्याउने मेरा कार्यसमितिका साथीहरु र हाम्रा सदस्यहरुमा कृतज्ञताका साथ हार्दिक धन्यवाद दिन चाहन्छु,' उनले भने ।
.png)