Comments Add Comment

एमाले कोशी प्रदेश अधिवेशन जारी, नेतृत्वमा दुईजनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज शनिबार पनि जारी छ । शुक्रबार सुरु भएको अधिवेशनमा आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।
अधिवेशनमा हिजो विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।
एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनहरुमाथि छलफलपछि पारित गरिने जनाइएको छ।
प्रदेशको नेतृत्वका लागि दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन । केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल नेतृत्वको प्रतिस्पर्धामा छन् ।
अधिवेशनको बन्द शत्र सञ्चालन गर्न केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ। अध्यक्ष मण्डलमा शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल सदस्य छन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ