Comments Add Comment

नरेन्द्रनाथ भट्टराईसहित इलाम-२ मा ६ जना आकांक्षीले दिए निवेदन

इलामको २ नम्बर निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि नरेन्द्रनाथ भट्टराईसहित नेकपा एमालेका ६ जनाले निवेदन दिएका छन्।

एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आइतबार साँझसम्मको समयसीमा दिएको छ। हालसम्म ६ जनाले निवेदन दिएको उक्त समितिका सचिव उमेश गुरुङले जानकारी दिए।

उनका अनुसार निवेदन दिनेहरुमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन्।

सुवेदी जिल्ला उपसचिव हुन् खनाल जिल्ला सचिवालय सदस्य तथा माई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा एमालेको इलाम २ नम्बर क्षेत्रीय सभापति पनि हुन् । देवी क्षेत्री दुलाल एमालेको जिल्ला सचिवालय सदस्य र रिपल राई कोशी प्रदेश समिति सदस्य हुन् । नरेन्द्र भट्टराई भने नेकपा कार्यकालको समयका केन्द्रीय सदस्य बनेका थिए।

उम्मेदवार छनोट समितिका सचिव गुरुङले आज बेलुकासम्म निवेदन पर्खिने र भोलि बैठक बसेर सर्वसम्मत बनाउने प्रयास गर्ने बताए। त्यसमा पनि सहमति नजुटे ३ गते जिल्लाको सचिवालयको बैठकमा पेस गर्ने र ५ गतेसम्ममा केन्द्रीय समितिमा पठाइसक्ने तयारी छ,’ गुरुङले भने ।

गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ । उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने सहमति भएको छ । थेगिम प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको विषयमा आन्दोलनरत पक्षका प्रमुख घटकहरुले थेगिमलाई समर्थन गरेका छन् । जसमा किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा र नेपाल शेर्पा सङ्घलगायत छन् ।

उता, नेपाली कांग्रेसले भने यसअघि नेम्वाङसँगै पराजित बनेका डम्बर बहादुर खड्कालाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ६ जनाको नाम सर्ट लिस्टमा राखेको जनाएको छ । यद्यपि उनीहरुको नाम गोप्य राखेको छ

माओवादी केन्द्रले पनि यसपटक एक्लै चुनावी मैदानमा उत्रने जनाएको छ । यद्यपि केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएसँगै सोही अनुसार बाम गठबन्धन हुने चर्चा पनि चुलिएको छ।

२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । कांग्रेसका उम्मेदवार खड्काले २०७९ सालमा माओवादी, नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरेका थिए।

source ratopati

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ