Comments Add Comment

मुन्धुमी स्थलहरुको प्रचारका लागि ‘सेहोनाम्लाङ’ महोत्सव हुने

पाँचथर, ५ चैत
किराँत धर्मशास्त्र मुन्धुममा वर्णित स्थलहरुको प्रचारका लागि पाँचथरमा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ। 
मुन्धुममा वर्णन भएको लिम्बू समुदायको उत्पत्तिसम्बन्धी साक्षात प्रमाणहरु रहेको बताइने पाँचथरको सेहोनाम्लाङ (छाला सुकुवा डाँडा) सहितका क्षेत्रहरुको प्रचारका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा महोत्सव आयोजना गरिएको हो। सेहोनाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव मूल आयोजक समितिले यही चैत २६ गतेदेखि वैशाक २ गतेसम्म पाँचथरको फाल्गुनन्द–५ फाक्तेपमा महोत्सव आयोजना गर्न लागेको हो। सेहोनाम्लाङको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वको प्रचार गर्ने, यस क्षेत्रको संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माण तथा सम्वद्र्धन गर्ने र पर्यटनमा आधारित आयआर्जन वृद्धिमा मद्दत पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ। 
सेहोनाम्लाङ क्षेत्र तथा लिम्बू समुदायको उत्पत्तिसम्बन्धि किम्बदन्तीका दुई पात्रहरु नामसामी र केसामीबारे छलफल गरी सेहोनाम्लाङसँग सम्बन्ध राख्ने पाँचथरकै यासोक, फुङसेन, साप्सु र नामसामी केसामीको प्रचार तथा पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा सहित महोत्सव आयोजना गरिएको आयोजक समितिका सचिव सूर्यप्रकाश चेम्जोङले जानकारी दिनुभयो । करीव ४० लाखको लागतमा महोत्सव सम्पन्न गर्न लागिएको आयोजकले जनाएका छन् । सेहोनाम्लाङ पाँचथरका फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकाको सीमानामा पर्छ। 
    महोत्सवमा सेहोनाम्लाङ क्षेत्रबारे प्रचार तथा पर्यटकलाई नियमित भ्रमण गराउने, कृषिजन्य वस्तुहरुको प्रदर्शन राख्ने, सेहोनाम्लाङवारे विज्ञहरुसँग छलफल गर्ने, आदिवासी जनजातिका कला संस्कृतिको सम्वद्र्धनबारे वहस गर्ने, कृषि तथा पर्यटनसम्बन्धी गोष्ठि सञ्चालन गर्ने, लोकसंस्कृतिमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने, फुटवल तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने, वृत्तचित्र प्रदर्शनी गर्ने लगायतका कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष डिएम आङ्देम्बेले जानकारी दिनुभयो। 


सेहोनाम्लाङको विशिष्ट महत्व
लिम्बू भाषाको सेहोनाम्लाङको अर्थ छाला सुक्ने ठाउँ हो । सूर्योदयदेखि सूर्यास्तसम्मै घाम लाग्ने यो अग्लो पहाडमा किराँत धर्मग्रन्ध मुन्धुममा वर्णन भएअनुसार बाघको छाला सुकाइएको र हालसम्म बोटबिरुवा तथा वनस्पति नउम्रेको स्थान, थेवा युमा युङदेन गुफा तथा ओडार र धर्मद्वार, महागुरु फाल्गुनन्दको तपस्यास्थल सहितका आकर्षक ठाउँ रहेका छन् । आधा दर्जन बढी गाउँ बस्तीको शिरमा रहेको अग्लो पहाडमाथि स–साना पहाड र थुम्का, हरियो जङ्गल र आकर्षक पदमार्गले भरिएको स्थान जति सुन्दर छ सोभन्दा बढी यसको महिमा उच्च छ । छिटफुट आन्तरिक पर्यटक तथा किराँत धर्मावलम्बी यस स्थानसम्म पुग्ने गरेका भए पनि घुमघाम र रमाइलो गर्ने प्रशस्तै ठाउँ रहेको यस स्थानमा जिल्ला बाहिरका तथा विदेशी पर्यटक भने नगन्य मात्रै पुग्ने गरेका छन्। 
जनश्रुति र मुन्धुममा वर्णन भएअनुसार आदिम कालमा नामसामी नामका मानवले केसामी नामको बाघको स्वरुपमा रहेको आफ्नै दाजुको छाला सेहोनाम्लाङमा सुकाएका थिए। मुन्धुममा वर्णन भएअनुसार नामसामी र केसामीकी आमा तिगेनजङ्ना ढुङ्गाको खोपिल्टोमा रहेको पानी पिउँदा गर्भवती भइन् । ढुङ्गाको खोपिल्टोमा शिकार खेल्न गएका आफ्ना दाजु र बाघको मुत्र रहेका कारण उनी गर्भवती भएकी थिइन्। उनले जन्माएका दुई सन्तानलाई नामसामी र केसामी नाम दिएकी थिइन्।
उनीहरूको हाल ताप्लेजुङको नाङखोल्याङस्थित केसाप्लुङ भन्ने स्थानमा जन्म भएको विश्वास गरिन्छ। हुर्कँदै गएपछि दाजु भाइबीच तरुल, भ्याकुर, शिकारलाई लिएर झगडा पर्न थाल्यो। जनश्रुतिअनुसार केसामीका दाँत तिखा थिए, लामा नङ्ग्रा पलाए। जङ्गलमा शिकार मारेर खान सक्ने भए । नामसामीले पनि मालिबासको धनुकाँड बनाइ चलाउन सिके। केसामीले नामसामीको शिकार गर्न खोजिरहेको थियो। 


एकदिन नामसामी भागेर ठूलो सिमलको रुखमा बसेको थियो । मान्छेको गन्ध सुङ्दै केसामी ठूलो सिमलको रूखको फेदमा पुग्यो । रुखमा लुकेर बसेको नामसामीको शिकार गर्न केसामी सिमलको रुखमा चढ्यो । नामसामीले केसामीलाई काँडले हान्यो तर, चलाख केसामी नामसामीले हानेका काँड छल्थ्यो। तर आफूलाई खान लागेको केसामीको मुखमा तीर हानेर नामसामीले केसामीलाई मारेको विश्वास गरिन्छ । 
तीरले मुटुमा भेटेपछि मृत केसामी सिमलको रुखका एक तर्फका सबै हाँगा भाँच्दै जमिनमा पछारियो । यही कारण सिमलको रुखमा एकतर्फ हाँगा हुँदैनन् भन्ने विश्वास गरिन्छ । आमा तिगेनजङ्नाले घरमा एउटा चिन्डोमा केसामीका नाममा बाबरीको फूल र नामसामीका नाममा सिल्लरी फूलको कलश बनाएकी थिइन् । 
उनी अहिले पाँचथरको सराङडाँडामा पर्ने फुङसेन भन्ने स्थानमा तान बुन्दै फूल हेरेर बसेको र जुन फूल मुर्झाएर जान्छ, उसले युद्ध हार्ने विश्वास लिएको जनश्रुति छ । आमा तिगेनजङ्नाले केसामी मरेको थाहा पाएपछि नामसामीलाई केसामीको छाला बिक्री गरेर नून ल्याई चोखिन अह्राइन् । केसामीको छाला काढेर सुकाउन हिँडेका नामसामीले सूर्योदयदेखि सूर्यास्तसम्म रहने सेहोनाम्लाङमा दाजुको छाला सुकाउन आइपुगेको र छाला सुकाउँदा गाडेका खुटीका डोबहरू अझैसम्म रहेको विश्वास गरिन्छ । 
सेहोनाम्लाङ डाँडामा अहिलेसम्म पनि बोट विरुवा उम्रेका छैनन् । नामसामी नामका आदिम मानवले खुटी गाडेको भनिएका डोबहरु ढुङ्गामा निकै आकर्षक ढङ्गले रहिरहेका छन् । जङ्गलको मध्यभागमा पर्ने सेहोनाम्लाङबाट पूर्वी नेपालका धेरै स्थानहरुको दृश्यावलोकन गर्न पनि सकिन्छ । यहाँ विशिष्ट प्रकारका चट्टान बाटिका तथा गुफाहरु रहेका छन् । 
लिम्बू समुदायमा विशेषगरी युवा युवती÷प्रेमी प्रेमिकाको शिर उठाउन फूल जगाउने संस्कार गरिन्छ । नामसामीले बाघ भएका दाजु केसामीको सर्वनास् गरेर लिम्बू परिवार र समाजको संरक्षण गरेको जनविश्वास छ । नामसामीले छालासँग मानिसलाई आवश्यक कुरा साटेर ल्याएको जनविश्वासले आदिम बेलादेखि नै लिम्बू समाजमा विनिमय प्रणाली प्रयोगमा रहेको बुझ्न सकिने जानकारको भनाइ छ । 
सेहोनाम्लाङले लिम्बू सभ्यताको आदिम कालखण्डको झ–झल्को दिन्छ । मान्छेको जवानीसँग फूललाई दाँजेर हेर्ने लिम्बू समुदायको छुट्टै विशेषता हो । यसरी लिम्बू समुदायको आस्थाको सबैभन्दा नजिकको साँस्कृतिक धरोहरको रुपमा सेहोनाम्लाङलाई पाउन सकिने किराँत याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष महेन्द्रकुमार आङदेम्बेको भनाइ छ । उक्त स्थानमा महागुरु फाल्गुनन्दले तपस्या गर्नुभएकाले पनि यसको विशिष्ट महत्व रहेको छ ।

रविन्द्र काफ्ले रासस



 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ