Comments Add Comment

राससका तस्बिरमा नेपाललाई देखाउने प्रयास भएको छ –वरिष्ठ नेता महतो

काठमाडौँ, २३ जेठ :

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कला, संस्कृति र पहिचान देशको निधि भएकाले यसको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ ।

गणतन्त्रको उपलक्ष्यमा राससद्वारा आयोजित हाम्रो सम्पदा : हाम्रो संस्कृति विषय तस्बिर प्रदर्शनीको अवलोकन गर्ने क्रमममा उहाँले हिमाल, पहाड, तराईका विभिन्न भाषा, संस्कृति, वेशभूषा हाम्रो पहिचान भएकाले राज्यपक्षबाट त्यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री महतोले भन्नुभयो, “प्रदर्शनीमा राखिएका तस्बिरमा समेटिएका चाडपर्व, कला, संस्कृति देशका सम्पत्ति हुन् । नेपाल भनेको यही हो, यसलाई हामीले जोगाउनुपर्छ । तस्बिरमा नेपाललाई देखाउने प्रयास भएको छ ।”

राससबाट सम्प्रेषित समाचार देश दुनियाँले ग्रहण गर्ने भएकाले विभिन्न राष्ट्रिय भाषामा समाचार दिने प्रयासले सबैलाई खुसी तुल्याउने बताउँदै उहाँले यसमा सरकारले विशेषरुपले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “अहिले अधिकार र पहिचानका कुरा उठिरहेको छ, त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्छ । यसमा राससबाट पनि समाचारको माध्यमबाट सहयोग पु¥याउने विषयबाट महत्वपूर्ण भूमिका रहन्छ ।”

जनताले परिवर्तनअनुरुपका गतिविधि र अनुभूति गर्न नपाएको बताउँदै पूर्वमन्त्री महतोले जनताको आकांक्षाअनुसार राज्यपक्षबाट काम हुन नसकेको भन्ने आवाजलाई सजक र गम्भीरसाथ हेरिनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जनताको भावनालाई समेटेर राज्य सञ्चालन हुनुपर्दछ । यो जनताको माग हो आज त्यो आवाजलाई सुनेर काम गर्नुपर्छ, त्यसमा राज्यपक्षले थुप्रै काम गर्न बाँकी छ ।” उहाँका साथ तस्बिर अवलोकनका लागि नेताद्वय केशव झा र सुरेन्द्रकुमार झालगायतका नेता सहभागी हुनुहुन्थ्यो । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ