Comments Add Comment

पाँच वर्ष बित्दा पनि देवी विकको हत्यारा पत्ता लागेन, परिवार पुगे गाउँपालिका

खोटाङ, १८ पुस 
जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीया देवी विकको हत्यारा पत्ता लगाउन माग गर्दै परिवारले स्थानीय सरकारलाई गुहारेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएकी देवीको हत्यारा पत्ता लगाएर कानुनी कारबाहीका लागि परिवारले स्थानीय सरकार समक्ष गुहार मागेका हुन् । 

 सोमबार जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाउँदै ससुरा पृथीमान बिक, श्रीमान मानबहादुर बिक, छोरा योगेश विक र छोरी सुजता विकले चाँडोभन्दा चाँडो देवीको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । प्रहरीको अनुसन्धानबाट हालसम्म दोषी पत्ता नलागेकाले स्थानीय सरकारलाई गुहार्नु परेको श्रीमान पृथीमानले बताएका छन् । 

माईतीबाट घर फर्कनेक्रममा सम्पर्कविहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो । तर, प्रहरीले हालसम्म ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन नसकेपछि पिडित परिवार गाउँपालिका पुगेका हुन् । 

२०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्यारा समेत हालसम्म गुमनाम छ । छ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ । तर, तीन जना महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ