दमौली, २० पुस
फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका–५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पु¥याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, “लामो समयदेखि आरन व्यवसाय गर्दै आउनुभएका उहाँले आधुनिकीकरणमा पु¥याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ ।”
फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिनुभयो । फलाम गाल्न घन हान्न कम्तीमा दुई जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उहाँले बताउनुभयो । युट्युब हेरेर करिब रु ३० हजारको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ ।
विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ । आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आउनुभएको छ ।
.png)