Comments Add Comment

जङ्गली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै रातभर जाग्राम

कञ्चनपुर, २० पुस 

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आउनुभएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्नुहुन्छ ।

“जङ्गली जनावर खेतबारीमा पसेको थाहा पाउने बित्तिकै घण्टी बजाउँछौँ”, उहाँले भन्नुभयो, “घण्टी जोरसँग बजाउन सुरु गरेपछि जनावर भाग्छन्, घण्टी बजाउन छाडेको केही बेरमै जनावर खेतमा पुनः आउने गर्दछन्, परिवारका सबै सदस्यले रातभर पालैपालो घण्टी बजाउने गरेका छौँ ।”

रातमा परिवारका सदस्य एक दुई घण्टामात्रै सुत्ने गरेको उहाँले बताउनुभयो । नीलगाई, चित्तल र बँदेलले बढी सताउने गरेको उहाँको भनाइ रहेको छ । रखवारी गर्दागर्दै पनि जङ्गली जनावरबाट बाली जागाउने नसकिएको मानबहादुर रानाले बताउनुभयो ।

“खेतमा लगाएको गहुँबाली नीलगाई र चित्तलले खाएर पूरै नोक्सानी गरेको छ”, उहाँले भन्नुभयो, “रातको चिसोमा पूरै रात खेतमा बस्न सक्दैनौँ, खेतमा रखवारी गर्न नबसेका बेला जनावरले पूरै खाएर फर्कन्छन् ।” निकुञ्जबाट हुलका हुल जनावर आउने भएकाले खेतमा लगाएको बाली जोगाउन निकै मुस्किल भएको पूर्ववडाअध्यक्ष बाले रानाले बताउनुभयो ।

जनावरले बाली खाएर हैरान पारेसँगै पछिल्लो समय हात्तीले पनि सताउन थालेको छ । उहाँले भन्नुभयो, “हात्ती पनि आउन थालेपछि ज्यान जोगाउनै मुस्किल हुन थालेको छ ।” रानाका अनुसार मङ्गलबार दिनभर हात्ती उखुबारीमै बस्यो, धपाउने अनेक उपाय अपनाए पनि गएन, तीन बिघा जग्गामा लगाएको उखुमध्ये १० कट्टाको पूरै तोडेर र खाएर नोक्सानी ग¥यो, राति नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा भगाउन सक्यौँ । उहाँले अगाडि थप्दै भन्नुभयो, “उखुबारीमा हात्तीले पस्नुअघि स्थानीय जीतबहादुर भाटलाई घर भत्काउने क्रममा भाग्न खोज्दा लखेटेर गम्भीर घाइते बनायो, घाइते भाट अहिले बाँच्ने, मर्ने दोसाँधमा बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ ।”

हात्ती निकुञ्जमा फर्किए पनि पुनः बस्तीमा आउने डर भएको क्षेत्रका बासिन्दा निकै त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष नवलसिंह राना जङ्गली जनावरले निकै सताउन थालेकाले निकुञ्ज कार्यालयले नियन्त्रणको प्रयास गर्नुपर्ने बताउनुहुन्छ ।

“जङ्गली जनावर बस्ती छिर्ने छेउमा मेसवायर जडान गरिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “निकुञ्जले पहल गर्नुप¥यो, हामी पनि यसका लागि प्रदेश र सङ्घ सरकारलाई गुहार्छौँ, जङ्गली जनावरकै कारण स्थानीय बासिन्दामा भोकमरी हुने सम्भावना बढेर गएको छ ।” खेतबारीमा लगाएको बाली पूरै जङ्गली जनावरले खाएर सखाप पार्ने भएकाले खेतबारी छँदाछँदै अन्नको जोहो गर्नका लागि अन्यत्र जानुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

“जङ्गली जनावरकै कारण स्थानीय बासिन्दा रातिमा निदाउन पाइँदैन”, उहाँले भन्नुभयो, “जनावर भगाउन घण्टी बजाउनेदेखि टौवाबाट उज्यालो गर्नेसम्मका अनेकौँ उपाय अपनाए पनि जङ्गली जनावर खेतमा पसेर बाली पेटभर खाएर मात्रै फर्कन्छन् ।” हिउँदको बेला मात्रै नभएर निकुञ्जका जनावर स्याली नदीमा बाढी आएका बेलासमेत खेतमा पस्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । धान, गहुँलगायतका बाली पूरै जङ्गली जनावरले सखाप पार्न थालेपछि केही किसानले उखु खेती गर्न थालेका छन् । उखु पनि हात्तीले खान थालेपछि किसान निकै निरास भएका छन् ।

फायल फोटो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ