कुमार खड्का
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका-५ स्याबरुम्बाकी संजिता चेम्जोङको घर नजिकै स्वास्थ्य चौकी छ । स्वास्थ्य चौकीमा एक बर्ष अघि ‘बर्थिङ सेन्टर’ स्थापना पनि भएको छ, तर बन्द छ। छोरी गर्भमा हुँदा उनले सोही स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइन । नियमित गर्भ जाँच गराएकी संजिताले ‘बर्थिङ सेन्टर’ बन्द भएकै कारण छोरी गुमाउनु प¥यो ।
“बैसाख महिनामा मलाई सुत्केरी ब्यथा लाग्यो, एम्बुलेन्स बोलाईयो तर ढिलो आयो, सायद स्वास्थ्य चौकीको बर्थिङ सेन्टर संचालन भएको थियो भने नानी बच्थ्यो” उनले भनिन्। त्यस्तै स्यावरुम्बा विजुवापानी निवासी गंगा चम्लागाई बोहोराको घर स्वास्थ्य चौकी नजिकै भए पनि आसार १७ गते घरमै छोरालाई जन्म दिईन । बर्थिक सेन्टर बन्द भएको कारण उनले पनि घरमानै छोरालाई जन्म दिनु प¥यो ।
कुम्मायक गाउँपलिका वडा नम्बर ५ स्यावरुम्बा स्थित स्वास्थ्य चौकीमा २०७८ साल चैत १४ गते धुमधामका साथ उद्धघाटन गरिएको बर्थिक सेन्टर करिब एक बर्ष सम्म पनि बन्द छ । सुविधा सम्पन्न भवन ७ लाख लागतमा निर्माण गरिएको र शौचालय ८० हजारमा निर्माण गरिएका हो । बर्थिङ सेन्टर बन्द हुँदा एक बर्षको अवधिमा वडाका ४० जना गर्भवती महिलालाई प्रसुतीका लागि स्वास्थ्य चौकीबाट अन्यन्त्र रेफर गरिएको स्वास्थ्यकर्मीको भनाई छ ।
स्वास्थ्य चौकीमा SBA (एस.बी.ए) तालिम लिएका स्वास्थ्यकर्मी छैनन् । भएका स्वास्थ्यकर्मीलाई पनि दक्ष प्रसुती ट्रेनिङ नहुदाँ बर्थिङ सेन्टरमा सेवा संचालन गर्न नसकिएको स्वास्थ्य चौकी ईन्चार्ज जयप्रकाश शाहले बताउनुभयो। गाउँपालिकामा पटक,पटक तालिमको माग गरिएको तर पालिकाले बेवास्ता गरेको उहाँको भनाई छ।
यता कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले अब छिट्टै स्वास्थ्यकर्मीलाई तालिम दिएर सेवा संचालन गरिने बताउनु भएको छ । “यो समस्याको बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ, अब तत्काल स्वास्थ्यकर्मीलाई टेनिङमा पठाएर कुम्मायक ५ का गर्भवती महिलाहरुलाई प्रसुतीका लागि सहज बनाउने छौ” उपाध्यक्ष महेन्द्र बहादुर खड्काले भन्नुभयो।

त्यस्तै कुम्मायक गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक केदार खड्काले केहि प्रबिधिक करणले ढिलो भएको र करिब माघ पहिलो साता पालिकाबाट २ जना स्वास्थ्यकर्मीलाई तालिममा पठाईने र त्यसपछी सेवा सञ्चालनलाई व्यवस्थित बनाईने जानकारी दिनुभएको छ ।
कुम्मायक गाउँपलिकामा हाल यासोक, रानीगाउँ तिङदेन, माङजाबुङमा बर्थिङ सेन्टर संचालित छन् ।

.png)