रमेश थापा
पॉचथर—अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा पॉचथर जिल्लाको कुम्मायक गाउँपालिकामा नेकपा एमाले बिजयी भएको थियो । एक स्वतन्त्र वडाअध्यक्ष बाहेक सबै उमेद्धवार निर्वाचित भएका थिए । पूर्व मन्त्री एवं एमालेका केन्द्रिय सदस्य डम्बरसिं सम्बाहाम्फेको प्रभाव रहेको गाउँपालिका एमालेको पकड मानिन्छ । तर पाँच वर्षमा राजनीतिक दलहरुको समीकरण र ध्रुवीकरण परिवर्तन भएको छ । एमालेको पकड मानिएको गाउँपालिकामा यस पटक गठबन्धन चुनौती दिने पक्षमा छ । गठबन्धनसंग प्रतिस्प्रधा गर्न एमाले रक्षात्मक भूमिकामा उभिएको छ ।
गत निर्वाचनमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा जयबहादुर चेम्जोङ ३ हजार २ सय २६ मत ल्याउदै विजयी हुन भएको थियो । उहॉका निकटतम प्रतिद्वन्द्वी राप्रपा र कांग्रेसका साझा उमेद्धवार नेपाली कांग्रेसका बम प्रसाद लावतीले २ हजार ३ मत ल्याउनु भएको थियो । त्यस्तै माओबादी केन्द्रका उमेद्धवार तारावीर कुवरले ४ सय १० मत प्राप्त गर्नुभयो । सो समयमा एमालेले कांग्रेसका उमेद्धवालाई १ हजार २ सय २३ मत अन्तरले पराजित गर्दै बिजय भएको थियो ।
तर अहिले समिकरण फेरिएको छ । तिनै लावती सयुक्त गठबन्धनका साझा उमेद्धवार बनेका छन । उनलाई आफ्नै पाटी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी गरी चार दलले साथ दिएका छन । एमाले र राप्रपा एक्ला—एक्लै चुनावी मैदानमा छन । अघिल्लो निर्वाचनको मत परिणाम हेर्ने हो भने एमाले अगाडी छ । तर एमालेबाट बिभाजित भएको एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाको साथ छ । यस्तो अवस्थामा गठबन्धनको जित सुनिश्चित रहेको गठबन्धनका साझा उमेद्धवार बमप्रसाद लावती दावी गर्नुहुन्छ । ‘अहिले एमाले एक्लो भएको छ । हामी सयुक्त गठबन्धनमा छौ । एमालेप्रति जनताको असन्तुष्टि बढेको छ । यस्ले गर्दा हामी जित्छौ, जित्ने आधार पनि छन लावतीले भन्नुभयो ।
यता एमाले पनि आफ्नो विरासत जोगाउने पक्षमा छ । उस्ले घरदैलो कार्यक्रममा तिब्र पारेको छ । पूर्व मन्त्री एंव् पाटीका केन्द्रिय सदस्य डम्बरसिंह सम्बाहाम्फे स्वयम सकृय हुनुहुन्छ । गठबन्धन चुनौती बन्दा आफुहरुलाई कुनै फरक नपर्ने एमाले अध्यक्षका उमेद्धवार भीम प्रसाद सम्बाहाम्फे बताउनुहुन्छ । ‘०७४ मा हामीले गठबन्धनलाई १२ सय २३ मत अन्तरले पराजित गरेका थियौं । यो पटक केही दबाव छ । तर हामी अंक गणितमा अझै माथी छौ जित सुनिश्चित छ सम्बाहाम्फेले भन्नुभयो ।
गठबन्धन एमालेको विरासत भत्काउन लागेको छ भने एमाले आफ्नो विरासत जोगाउने पक्षमा लाग्दा दुबै पक्ष बीच रोचक प्रतिस्प्रधा हुने अनुमान गरिएको छ । दुबै पक्ष बीच झिनो मत अन्तरले हार जित हुने अपेक्षा दुबै पक्षले गरेका छन ।
.png)