कुमार खड्का
पाँचथरको- कुम्मायक गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। पालिकाका सम्पूर्ण वडामा १-१ दिन शिविर आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।
कुम्मायक गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका अनुसार वडा नम्बर १ का जम्मा ३ सय ९९ जना लाभग्राही रहेकोमा साविक १,९ वडाका ४७ जना, वडा नं. २ का ३ सय ३९ जना लाभग्राही मध्ये २ सय ७ जना, ३ नं. वडाका २ सय ७६ जना लाभग्राही मध्ये १ सय ४ जनालाई वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको शाखाले जानकारी गराएको छ।
त्यस्तै आज वडा नं. ५ का ३१५ जना लाभग्राही मध्ये ९२ जनालाई वडा कार्यालय पिपलबोटेमा गएर भत्ता वितरण गरिएको र वडामा पुगेर भत्ता नलिने कतिपय लाभग्राहीले बैंकमै आएर भत्ता बुझ्दै गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शाखा कुम्मायकका प्रबन्धक प्रेम न्यौपानेले जानकारी गराएका छन्।
बुधवार कुम्मायक ४ का २ सय ४४ जनालाई वडा कार्यालय तिङ्देनमा गएर भत्ता वितरण गर्ने कार्याक्रम रहेको छ।
वृद्ध–वृद्धा तथा अशक्तलाई सहज बनाउन वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीले बताउनुभयो। गाउँपालिकाले नेपाल ईन्भेष्मेण्ट मेगा बैँक लिमिटेडबाट पालिकाको सम्पूर्ण कारोवार गर्दै आएको छ।
गाउँपालिकाका १५ सय ७३ जना लाभग्राहीलाई दोस्रो त्रैमासीकमा १ करोड ५९ लाख ८१ ह्जार ९ सय ९६ रुपैँयाँ भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ।
.png)