झापा, ७ फागुन :
मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ।
मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलको माध्यमबाट खेलाडीको प्रवर्द्धनसँगै मुलुकको विकासमा योगदान पुग्ने बताउनुभयो ।
उहाँले १८ वर्षपछि मेची रङ्गशालामा भएको यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितासँगै भद्रपुर क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । मन्त्री लिङ्देनले खेल सम्पन्न गर्न र यसलाई बर्सेनि निरन्तरता दिन आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले विभिन्न खेलका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पुगेका झापाली खेलाडीका कारण गौरव महसुस भइरहेको बताउनुभयो । उहाँले सरकारसँग खेलाडीलाई खेल खेलेरै बाँध्न सक्ने आधार तयार गरिदिन समेत आग्रह गर्नुभयो ।
आजदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ । पहिलो संस्करणको मुस्ताङ भद्रपुर–झापा गोल्डकप प्रतियोगिताको विजेता टिमलाई नगद रु १३ लाख र उपविजेता टिमलाई नगद रु सात लाख पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार दिइने भएको छ ।
प्रतियोगितामा आयोजक भद्रपुर झापा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, सङ्कटा क्लबलगायत नेपालका ए डिभिजन क्लबहरू र भारत, भूटान र बङ्गलादेशका तीन विदेशी क्लबसहित १० वटा क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष ढकालले जानकारी दिनुभयो । –––
.png)