रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको १५ शैयाको अस्पताल निर्माणको काममा ढिलासुस्ती भएको छ। अस्पताल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले दक्ष जनशक्ति परिचालन गर्न नसक्दा ढिलासुस्ती भएको हो। भवन निर्माणको काम २०७८ सालमा नागरजुङ भगवती जेभी काठमाडौंले ठेक्का लिएको थियो। भ्याट सहितको १४ करोड २१ लाख ५ हजार २०७ रुपैयाँमा ठेक्का लिएको ठेकेदार कम्पनीले योजनाको काम सुस्त बनाएको हो।
दुई वर्ष भित्र योजना सम्पन्न गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीलको २०८० असार मसान्तसम्ममा सम्झौता अवधि पुरा हुदैछ। बाँकी रहेको पाँच महिना भित्र भवनको काम सम्पन्न गर्न मुस्किल छ। योजना सुरु भएको १९ महिनामा २० प्रतिशत भौतिक प्रगति र १५ प्रतिशत वित्तिय प्रगति मात्र गरेको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले बताए। “हामीले भवन निर्माणमा भएको ढिलासुस्ती प्रति निर्माण कम्पनीलाई पटक–पटक टेलिफोन र पत्रचार गरी निर्देशन दिएका छौ। तर हालसम्म अपेक्षित उपलब्धि देखिएको छैन। केही कामदार निर्माण स्थलमा खटाएर काम गर्दै आएको छ। गाउँपालिकाले जनशक्ति बढाएर काम गर्न भन्दै निर्देशन दिएकाछौँ तुम्वापोले भने ।
ठेकेदार कम्पनीले हालसम्म भवन निर्माणमा कामदार परिचालन गर्न सकेको छैन । १० देखि १५ कामदार खटाएर काम गर्दै आएको छ । यता ठेकेदार कम्पनीले कामदार निर्माण स्थलमा खटिएको दावी गरेको छ। भवन निर्माणमा आवश्यक पर्ने २० देखि ३० जना जनशक्ति परिचालन गरेको बताएको छ। गाउँपालिकाले भवन निर्माणको काममा ढिलासुस्ती भएको भन्दै ठेकेदार कम्पनीलाई तत्काल निर्माण स्थलमा थप जनशक्ति खटाएर काम गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए। गाउँपालिकाले दिएको निर्देशनलाई अटेर गरे कानुन बमोजिम अघि बढ्ने लावतीको भनाइ छ।
जिल्लाको याङवरक, मिक्लाजुङ र कुम्मायक गाउँपलिकामा १५ शैयाको अस्पताल निर्माण हुदै आएको छ । मिक्लाजुङ र याङवरक गाउँपालिकामा भवन निर्माणको कामले गति लिएको छ। मिक्लाजुङ गाउँपालिकामा अस्पताल निर्माणको काम सियम कृष्ण लक्ष्मी जेभीले २०७९ बैसाखदेखि काम गर्दै आएको छ। भवन निर्माणको दश महिनामा ६५ प्रतिशत भौतिक प्रगति गरेको गाउँपालिका उपाध्यक्ष सन्तोश सेर्माले बताए । तर कुम्मायकमा १९ महिनाको अवधिमा २० प्रतिशत मात्रै प्रगति देखिएको छ ।
.jpg)
.png)