धरान, १७ फागुन:
धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) फाइनलमा प्रवेश गरेको छ ।
धरान–१६ स्थित रङ्गशालामा आज भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो । केएफटिसीका लागि विदेशी खेलाडी यमी, सुशील राई र निशान लिम्बूले गोल योगदान गर्नुभयो । खेलको २२औँ मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमीले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गर्नुभयो । बदलामा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा पु¥याउनुभयो । भुजेलले प्रतिक लामाको पासमा सानदार हेड गोल गर्नुभएको थियो ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गरी टिमलाई विजय सुनिश्चित गरेको थियो । दोस्रो हाफको ४७आँै मिनेटमा यमीको क्रसमा गिल्सन लिम्बूले मिलाइदिएको पासलाई केएफटिसीका सुशील राईले गोल गरे। खेलको इन्जुरी समयमा सुशील राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले अर्को गोल गर्नुभयो ।
खेलको म्यान अफ द म्याच भने केएफटिसीका यमी घोषित भई नगद रु १० हजार पुरस्कार पाउनुभएको छ । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताउनुभयो । आफूले बनाएको रणनीतिअनुसार खेलाडीले खेल्दा नतिजा निस्किएको केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले प्रतिक्रिया दिनुभयो । बिहीबार विदेशी टिम एभिनियर क्यामरुन र एन्फा मोरङबीच सेमी फाइनलको खेल हुने आयोजकले जनाएको छ । –––
.png)