मोरङ, १७ फागुन :
प्रदेश सभाको बुधबार बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएपछी प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेश नं. १ सरकारले विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई २०७९ फागुन १८ गते विहिबार सार्वजनिक विदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) ले निर्णय गरेको हो।
प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ। आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो। नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो। मत विभाजनका आधारमा प्रदेशको नाम टुङ्गो लगाउँदा कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा चार मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो।
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा सदस्य कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारको उक्त संशोधन प्रस्ताव टेबल गरेपछि ध्वनी बहुमतले अस्वीकृत भएको थियो । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिनुभएको थियो । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले दिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सभामुख गौतमले सभालाई जानकारी दिनुभयो ।

.png)