काठमाडौँ, २० फागुन :
मानवशास्त्री डा उद्धव राईको संस्मरणात्मक कृति ‘कोसी किनारका पाइलाहरु’ आज विमोचित भएको छ।
बुक हिल प्रालिले प्रकाशन गरेको सो कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक राईका ८४ वर्षीया आमा चन्द्रदेवी राई र लेखक राईकी जीवनसङ्गिनी डा बिमला राई पौड्यालकी १०१ वर्षीया आमा इन्द्रमाया पौड्यालले संयुक्तरुपमा विमोचन गर्नुभएको हो।
मानवशास्त्री राईले आफ्नो विद्यार्थीकालदेखि प्राध्यापन, अनुसन्धान र अन्तर्राष्ट्रिय गैह्रसरकारी क्षेत्रमा काम गर्दा देखे–भोगेमा देश—विदेशका अनुभव र अनुभूतिलाई पुस्तकमा उतार्नुभएको छ ।
कुलपति राईले लेखक राईको साहित्यिक क्षेत्रमा दरिलो उदय भएको उल्लेख गर्दै उहाँलाई लेखकीय निरन्तरताका लागि आग्रह गर्नुभयो ।
निवर्तमान परराष्ट्रमन्त्री डा पौड्यालले लेखक राईको पहिलो पाठक हुनुका नाताले उहाँ मनैदेखि लेखनप्रति प्रतिबद्ध र स्पष्टवक्ता हुनुभएको सुनाउनुभयो । सो अवसरमा सङ्गीतकार गणेश रसिक, मानवशास्त्री डा सुरेश ढकाल, अनुसन्धानदाता कैलाश राई, साहित्यकार तोया गौतमले ‘कोसी किनारका पाइलाहरु’ माथि समीक्षा र लेखक राईको व्यक्तित्वबारे टिप्पणी गर्नुभएको थियो । ---
.png)