पर्वत, ३० फागुन :
झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका हुन् । खेतबारीमा लगाइएको गहुँ, तोरी, आलु, फापर, जौलगायत तरकारीहरुको उत्पादन न्यून हुँदा निराश बनेका कृषकहरु बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका हुन्।
सिँचाइको सुविधा भएका ठाउँका कृषकहरुभन्दा सिँचाइको सुविधा नभएका ठाउँका कृषकहरुलाई ठूलो राहत मिलेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। वर्षा भएपछि कृषकहरुलाई खेतबारी जोतखन गर्न र बर्खे बाली लगाउन सहज भएको छ।
गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै आठ हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ।
वर्षा नहुँदा चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन ढिलाइ भएको थियो । फागुन पहिलो साता रोप्नु पर्ने मकै अहिलेसम्म रोप्न नसकिएको ठूलीपोखरीका कृषक राधा सापकोटाले बताउनुभयो । यसपालि खेतको मकै समयमै नपाक्ने भएको छ । अब लगाएको मकै साउनमा मात्र पाक्ने उहाँको भनाइ थियो।
बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य कृषकहरुको भनाइ थियो । सोमबार जिल्लाको जलजला, मोदी, महाशिला, पैँयु, विहादी, फलेवास र कुश्मा नगरपालिका गरी सातवटै पालिकामा वर्षा भएको थियो। वर्षासँगै बेकामे बनेका कृषकहरु खेतबारीमा व्यस्त हुने भएका छन्।
हरेक वर्षको एक पटक हिउँ पर्ने पर्वतको बनौ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताउनुभयो । हिउँ नपरे पनि वर्षा भएकाले बालीनाली लगाउन सहज भएको उहाँको भनाइ थियो।
कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताउनुभयो । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ। –––
.png)