मलेखु, ४ चैत :
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ।
आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।” उहाँले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उहाँको भनाइ छ ।
ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिकरूपमा सुधार हँुदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गर्नुभयो । “बैंकको ब्याज एकल अङ्कभन्दा माथि जाँदैन । भन्सारका समस्या पनि छिट्टै समाधान हुन्छ । व्यवसाय चलेन भने सरकार चल्दैन । व्यवसायीहरू अहिले समस्यामा छन्”, उहाँले भन्नुभयो, “सरकार व्यवसायीको समस्या समाधान गर्ने उपाय खोजिरहेको छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्याङ्क निकालेर राज्यको आयस्रोत बढाउन नयाँ खाका बनाएर सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य महासङ्घ र बागमती सरकार मिलेर उत्पादन तथ्याङ्क आवश्यक रहेको उहाँको भनाइ छ ।
सांसद डिपी अर्यालले सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक सङ्कट आइपरेको बताउनुभएको छ।
पूर्व श्रममन्त्रीसमेत रहनुभएका सांसद अर्यालले भन्नुभयो, “म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठूलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्य जरुरी छ ।”
सांसद रामनाथ अधिकारीले उद्योगी व्यवसायीको निम्ति राज्यले लिएको नीति परिपक्क नभएकाले समस्या आइपरेको बताउनुभयो । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले भोट हाल्नकै लागि रातारात सदस्यता दिने र बनाउने प्रवृत्तिले धादिङ उद्योग वाणिज्य सङ्घ कमजोर बन्दै गरेको सङ्केत गर्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेश धमलाले बैंकरहरू आफैँ उद्योगपति बन्ने प्रवृत्ति बढेकाले उद्योगीहरू सङ्कटमा परेको बताउनुभयो । नीति र बोलीमा मात्रै परिवर्तन ल्याउने व्यवहारमा लागू नगर्ने प्रवृत्तिले मजदुर र उद्योगी व्यवसायी बलियो बन्न नसकेको उहाँले बताउनुभयो ।
“व्यवस्थित नीति बनाउन नसक्दा पनि उद्योगधन्दा फस्टाउन नसकेको हो”, धमलाले भन्नुभयो, “बैंकबाट कर्जा लिएर, उद्योगमा लगानी गरेर, देशमै रोजगारी सिर्जना गराउने र नाफा कमाउने सपना व्यवसायीले बोकेको हुन्छ । तर बैंकहरूले बढाएको ब्याजदरकै कारण त्यो सम्भव छैन ।”
बैंकहरूले मुद्दतिको ब्याजदर घटाएर कर्जाको ब्याजदर नघटाए देशमा सञ्चालित उद्योग कारखानासमेत बन्द हुने र देशमा चरम आर्थिक सङ्कट आइपर्ने जिकिर गर्नुभयो । ---
.png)