रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको तेस्रो दिनको सेमिफाइनल खेलमा कुम्मायक गाउँपालिकालाई १–० को कठिन जित निकाल्दै फाल्गुनन्द गाउँपालिकाले फाइनलको यात्रा पक्का गरेको छ। कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा कुम्मायकलाई १–० अन्तरले हराउदै फाल्गुनन्दले फाइनलको यात्रा पक्का गरेको हो।
खेलको सुरुवाती समयमा कुम्मायकका डिफ्रेन्स र किपरले नियन्त्रण गुमाउदा त्यसको फाइदा उठाउदै फाल्गुनन्दका बिनोद नेम्वाङले प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो। कुम्मायकले खेल अवधिभर पाएका महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै पराजित हुन पुग्यो।
त्यस्तै आज भएको अर्को खेलमा तुम्बेवा गाउँपालिकालाई ट्राइब्रेकरबाट ८–७ को अन्तरले पाखा लगाउदै याङवरक गाउँपालिकाले सेमिफाइनको यात्रा सुरक्षित गरेको छ। निर्धारित समयमा दुई–दुइको बराबरीमा खेलेका दुबै टीमले कुनै पनि गोल गर्न सकेनन्। त्यसपछि खेल ट्राइब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा ७ का बिरुद्ध ८ गोल गर्दै याङवरकले सेमिफाइनको यात्रा पक्का गरेको हो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी याङवरकका रबिन बेघा (लिम्बू) र फाल्गुनन्दका बिदेश आङ्देम्बे घोषित भए। उनिहरुलाई कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले नगद सहित मेडल प्रदान गरेका थिए । प्रतियोगिताको चैत १४ गते हुने सेमिफाइनल खेल मिक्लाजुङ गाउँपालिका र याङवरक गाउँपालिका बीच हुने आयोजक कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष रोहन घिमिरेले बताए।
प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।

.png)