रमेश थापा
पाँचथर : पछिल्लो समयमा बिभिन्न मुर्ति र स्तम्भ निर्माणले प्राथमिकता पाएको छ। जस्ले सामाजिक संजालमा स्थान पाएको मात्रै छैन्, आलोचना पनि बढ्न थालेको छ। अहिले धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरमा निर्माण गरिएको बाख्राको प्रतिमाले पनि चर्चा पाएको छ। केही दिन यता सामाजिक संचाल प्रयोगकर्ताहरुले भाइरल बनाएका छन। गाउँपालिकाले स्थानीयको माग अनुसार बाख्रा पकेटक्षेत्र कुशेटारमा उन्नत जातको बोयर बाख्राको प्रतिमा निर्माण गरेको हो।
अघिल्लो आर्थिक वर्षको ५ लाख र आर्थिक वर्ष २०७९÷८० को २ लाख बजेटबाट प्रतिमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष झप्तमान अधिकारीले बताए। कुशेटार उन्नत जातको बोयर बाख्राको पकेट क्षेत्र भएकाले यसको प्रर्वद्धन र चिनारीको लागि प्रतिमा निर्माण गरिएको अधिकारीको भनाइ छ।
गाउँपालिकाको बेसी क्षेत्र र खोलानाला प्रसस्तै भएकाले घासपातको कुनै समस्या छैन । सडकको रुपमा तमोरकोरिडोर भएकाले बाख्राको बजारीकरण र बोयर जातको बाख्रा उत्पादन राम्रो हुने भएकाले प्रतिमा निर्माण गरिएको वडासचिव दिपक बास्तोलाले बताए। सडकछेउमै निर्माण गरिएको प्रतिमाको फोटो यात्रुहरुले सवारी साधन रोकेरै खिच्ने गरेको स्थानीयवासीले जनाएका छन।
.png)