खोटाङ, १३ बैसाख
खोटाङमा पहिचान पक्षधरले किरात फोर्स गठन गरेको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन थालिएको दवावमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि प्रदेश १ संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमिति संयोजक रहेका निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किरात फोर्स गठन गरिएको हो।
पहिचान पक्षधरको बुधबार शुभम फाउण्डेसनमा भएको भेलाले अगाडि शहिद पदम लिम्बू (लाजेहाङ)को तस्बीर र पछाडि किरात फोर्स अंकित कालो टि–सर्टधारी युवा दस्ता बनाएको हो।
ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात प्रदेश पुःन नामांकन आन्दोलनलाई सशक्त बनाउने तथा आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि किरात फोर्स गठन गरिएको संयोजक राईले बताए । संयोजक राई जसपाका नेता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्ववडाध्यक्ष हुन्। परिपक्व र इमान्दार युवालाई छानेर किरात फोर्समा आवद्ध गराइएको संयोजक राईले बताए।
दिक्तेलमा बाईक र्याली सहितको जनप्रदर्शन
प्रदेश १ संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमितिले दिक्तेलमा बाईक र्याली सहितको जनप्रदर्शन गरेको छ। उपसमितिले शुभम फाउण्डेसनबाट किरातचोक, त्रिबेणीचोक, हाटडाँडा हुँदै भवनगैरासम्म बाईक र्याली सहितको जनप्रदर्शन गरेको हो । ‘कोशी प्रदेश खारेज गर।
ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात प्रदेश पुःन नामांकन गर । महान शहिद पदम लिम्बू (लाजेहाङ) अमर रहुन्’ लेखिएको व्यानर सहितको र्यालीले विभिन्न चोकमा कोणसभा गरेको थियो। कोणसभालाई पहिचानपक्षधर नेताहरुले सम्बोधन गरेका थिए । र्यालीले बजार परिक्रमा गर्नेक्रममा मानव अधिकारचोकमा रहेको खानेपानी, सिचाई तथा उर्जा मन्त्रालय जलश्रोत तथा सिँचाई विकास डिभिजन दिक्तेलको बोर्डमा उल्लेखित कोशी मेटाएको छ।
कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दवावमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि खोटाङमा यायोक्खाका अध्यक्ष युगसन किरात संयोजकत्वको एक हजार २०३ सदस्यीय पुःन नामांकन संयुक्त संघर्ष समिति क्रियासिल छ। यस्तै, संघर्ष समिति गठनप्रति ऐक्यवद्धता जनाउँदै जनता समाजवादी पार्टीले पनि अध्यक्ष पिके खम्बुको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ।
संविधानको भावना, बिभिन्न समयमा भएको आन्दोलनको मर्म र शहीदहरुको सपनालाई लत्याउँदै पञ्चायतीशैलीमा थास्थिति झल्काउनेगरी प्रदेशको नाम राखिएको भन्दै आदिबासी जनजाती महासंघ, यायोक्खा, जातीय संगठन, पहिचान पक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत विरोधमा उत्रिएका छन्।

.png)