Comments Add Comment

बिरामीको बहानामा चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा बिरामी भएको नाटक गरेर चुनावमा हेलिकप्टर प्रयोग गरेको उजुरी परेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हेलिकप्टर प्रयोगको विषयमा दुईवटा उजुरी परेको बताए ।

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गरेर हेलिकप्टर प्रयोग गरेको उजुरी आएको बताए ।

‘हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यू आए । हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्सनमा जानुपर्छ’ प्रमुख आयुक्त थपलियाले भने ।

यस्ता विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि प्रश्न उठ्ने उनले बताए । 

प्रमुख आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहिता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालबाट भने धेरै उल्लंघन भएको बताए ।

मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै उनले अरुको चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए ।

‘ठूला नेता उभिसकेपछि अर्को नेतालाई सत्तो सराप नगरीकन भाषण नै नसिध्याउने प्रवृत्ति छ, यो आचारसंहिताभित्र पर्छ कि पर्दैन । पर्छ भने कसले सोध्ने, कसैले त सोध्नुपर्ला । हामीले हाम्रा नेताहरुले पचाउनुहुन्छ, भन्ने गरेको छौं, तर त्यो नसुहाउला’ उनले भने, ‘यस्ता किसिमका इस्यूहरु युट्युब, भाइबर, फेसबुकबाट आइरहका छन्, अहिले बढी टिकटकबाट छन् ।’

अनलाईन खबरबाट साभार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ