Comments Add Comment

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह सुविधा दिन निर्देशन

रमेश थापा 
पाँचथर :पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयमा काम गर्ने शिक्षकको तलब न्युन भएको भन्दै सामुदायिक विद्यालय सरह सुविधा दिन निर्देशन दिएको छ। सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकको भन्दा ज्यादै न्युन सेवा सुविधा भएको गुनासो आएपछि नगरपालिकाले सामुदायिक स्कुल सरह सेवा सुविधा दिन निर्देशन दिएको हो। 
नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका भित्रका सबै सस्थागत विद्यालयले निर्देशन अनिवार्य लागु गर्नु पर्ने जनाएको छ। फिदिम नगरपालिकाको शिक्षा नियमावली २०७४ उपनियम १३ को २ मा सबै सस्थागत विद्यालयहरुले शिक्षक तथा कर्मचारीहरुको लागि सामुदायिक स्कुल सरह तलव स्केल, दशै बिदाहरु, तालिम र जेष्ठ भत्ता उपलब्ध गराउनु पर्ने जनाएको छ।

सोही नियमको उपनियम ३ मा शिक्षक र कर्मचारीहरुको लागि नियमित तलव निश्चित प्रतिशत रकम छुट्याई सोही बराबर रकम थप गरी संचयकोषको प्रबन्ध गर्नुपर्ने जनाएको छ। त्यस्तै सोही नियमको उपनियम ५ मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको दुई जना बालकलाई मासिक पढाइ शुल्क लिन नपाउने र उपनियम ८ मा शिक्षकहरुको तलब भत्ता बैंक मार्फत प्रदान गर्नु पर्ने व्यवस्था उल्लेख गरेको छ।
नगरपालिकाले गरेको निणर्य कडाइका साथ पालना गर्न दिएको निर्देशन तत्काल कार्यान्वय गरी सोको प्रगति बिवरण नगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताए। नगरपालिकाले पत्रको बोद्धार्थ जिल्ला प्रशासन, शिक्षा विकास समन्वय इकाई, जिल्ला समन्वय समिति र संस्थागत विद्यालयको छाता संगठनलाई समेत पठाएको छ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ