रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले डेंगी रोग नियन्त्रण गर्न सकृयता अपनाएको छ। मंगलवार सिम्रिक होटल यासोकमा जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा भएको कार्यक्रम मार्फत डेंगी रोग नियन्त्रण गर्न सकृयता अपनाएको हो। गाउँपालिकामा डेंगी रोग सरोकारवालाहरुसंगको समन्वय बैठक तथा अन्तरक्रियापछि यासोक बजारको अनुगमन तथा निरिक्षण गरेको छ।
गाउँपालिकाले डेंगी रोग नियन्त्रणको लागि लामखुट्टेको लार्भा नष्ट गर्न अभियान संचालन गरेको थियो। बजारको बिभिन्न स्थानमा फोहोर जम्ने नाली, पानीका ड्रम, खाल्डाखुल्डी व्यवस्थान गर्दै बजार सरसफाइमा ध्यान दिन स्थानीयलाई गाउँपालिकाले सुझाव दिएको छ। बजारमा पानी जम्ने खाल्डाखुल्डी पूर्ने, पानीका ड्रम छोप्ने, नाली र झाडी नियमित सरसफाई गर्न बजारबासीलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले आग्रह गरेको छ।
पछिल्लो समय तराई क्षेत्रबाट संक्रमण फैलिने क्रम बढेको भन्दै गाउँपालिकाले रोग नियन्त्रणमा सकृयता अपनाएको कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । रोग नियन्त्रण गर्न नागरिक स्तरबाट चासो दिनुपर्नेमा लावतीको जोड थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष मेहन्द्रबहादुर खड्काले गाउँपालिकामा डेंगी रोगको संक्रमण रोकथाम गर्न युद्ध स्तरमा लागि पर्ने प्रतिवद्धता जनाए । बजारमा यसको संक्रमण र जोखिम बढि हुने भएकाले गाउँपालिकाले उच्च सावधानी अपनाउने खड्कको भनाइ छ । गाउँपालिकाले बजारका बिभिन्न स्थानको अध्यायन र अवलोकनपछि डेंगी फैलिन सक्ने सम्भावित क्षेत्रको खोजी गरी रोकथाम र नियन्त्रणको लागि पहल गर्ने गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए ।
डेंगी रोग नियन्त्रण सम्बन्धिको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका जनस्वास्थ्य अधिकृत लवरेन्ज शाह र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले सहजिकरण गरेका थिए । कार्यक्रममा कुम्मायक ३ का वडाअध्यक्ष बाबुराम कार्की, ४ का वडाअध्यक्ष फगेन्द्र बहादुर सम्बाहाम्फे र वडा नं. ५ का वडाअध्यक्ष निर्मलराज घिमिरे लगायत स्वास्थ्यकर्मी, प्रहरी संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

.png)