रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले नियन्त्रणमा लिएका सामाग्री व्यवसायीलाई फिर्ता दिने निर्णय गरेको छ। यासोक बजारका व्यवसायीले अब्यवस्थित रुपमा सामाग्री राखेको भन्दै एकहप्ता अघि गाउँपालिकाले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका तिनै सामाग्री सर्वदलिय बैठकमार्फत फिर्ता दिने निर्णय गरेको हो।
यासोक बजार व्यवस्थापन गर्ने क्रममा नियन्त्रणमा लिएका बालुवा खानेपानीका ड्रम लगायतका सामाग्री कागज गराएर एकपटकको लागि व्यवसायीलाई फिर्ता दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। सडक आसपासमा अब्यवस्थित रुपमा कुनै पनि सामाग्री नराख्ने प्रतिवद्धता सहित व्यवसायीको सामाग्री फिर्ता गरिएको कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले बताए। “हामीले जरिवाना तिराएर मात्रै सामाग्री फिर्ता दिने की ? भन्ने ठानेका थियौ । तर पालिकामा बसेको सर्वदलिय बैठक मार्फत एक पटकलाई कागज गराएर छोड्ने सहमती भएको हो। दास्रो पटक दोहोरिएमा यो छुट नहुने लावतीको भनाइ छ।
गाउँपालिकाले विगत लामो समयदेखि बजार व्यवस्थापनको बिषय उठाउँदै आएको थियो। पटक–पटकको सुचनापछि पहिलो पटक गाउँपालिका एक्सनमा आएर व्यवसायीको सामाग्री जफत गरेको थियो ।
.png)