रमेश थापा
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिकाको कार्यालयलाई बृद्धि गरिएको कर लागु नगर्न नेकपा एमाले फाल्गुनन्द गाउँ कमिटिले ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत गाउँसभाले विभिन्न शिर्षकमा करको दर लागु गर्ने जनाएको थियो । त्यस मध्ये सबै भन्दा महंगो भूमिकर अव्यवहारिक र अपरिपक्क निणर्य भएको भन्दै एमालेले करको दर बृद्धि गरिएको बिषयमा पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
स्थानीय मुल्यांकन अनुसार कर वृद्धि गराउनुपर्ने माग राख्दै पार्टीको तर्फबाट ध्यानाकर्षण गराइएको एमाले नेता तथा नि.वर्तमान गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङले जानकारी दिए। व्यवसायिक क्षेत्र, आवासिय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र लगायतको भूमिकर, घरधुरी कर र कृषि जन्यवस्तु निकाशी कर, नागरिकहरुको क्षमताको विकास नगरी अत्याधिक करको दर बृद्धि गरिएको कुरुम्वाङको भनाई छ। सो पाटीले विश्वव्यापी महामारी (कोभिड) को कारण अर्थतन्त्र कमजोर भई आर्थिक मन्दी, बेरोजगारले समग्र देशको अर्थतन्त्र नै धराशायी अवस्थामा पुगि अर्थतन्त्र भर्खर तङग्रीन्दै गरेको वेला साविकको करमा समेत घटानु पर्ने माग समेत गरेको छ ।
गाउँपालिकाले हालको कर निर्धारण गरे अनुसार प्रति रोपनी पाँच रुपैंयाबाट वृद्धि गरी प्रति रोपनी १ हजार ६ सयदेखि ३ हजार २ सयसम्म वृद्धि गरिएको छ । सो कर नागरिकको आर्थिक अवस्था अनुसार नभएको र अवैज्ञानिक रहेको गाउँकमिटि अध्यक्ष विनोद आङदेम्बे र सचिव सन्दीप विक्रम नेम्वाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उक्त जग्गाको १० औं वर्षको उत्पादनको आम्दानीले कर समेत तिर्न नपुग्ने भएकोले, भूमिकर, कृषि जन्य निकाशी कर वृद्धिले गाउँपलिकाका नागरिकलाई मार परेको भन्दै १५ दिन भित्र फिर्ता लिन चेतावनी दिएको छ । १५ दिन भित्र फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने विज्ञप्तीमा उल्लेख छ ।
यता गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले ज्ञापनपत्र बुझ्दै यसलाई संशोधन गर्न असोज ४ गते विशेष गाउँसभा बोलाइ सकेको जानकारी गराउँदै व्यवहारिक र पालिकाबासीलाई मार नपर्ने गरि नयाँ करको दर निर्धारण गरिने बताए । आफुहरुले विषेश गाउँसभाको तयारी गर्दै गर्दा नेकपा एमाले जस्तो जिम्मेवार प्रतिपक्षी पार्टीले देखाएको चासो प्रति उच्च सम्मान गरेको बताउँदै यो बिषयमा छलफल गरी टुङ्गोमा पुग्ने आङ्देम्बेले बताए ।
उनले वडा मार्फत छलफल भएर आएको निर्णयका आधारमा भू–वर्गीकरणको काम सम्पन्नपछि व्यवसायिक क्षेत्रको भूमिकरमा केही त्रुटि भए पनि अन्य क्षेत्रका नागरिकलाई मार पर्ने गरी कर नतोकिएको दावी गरे । १०७.५३ वर्गकिलोमिटर क्षेत्रफल र सात वटा वडा रहेको पालिकाकाको ३ नम्बर वडालाई मेची राजमार्गको कालो पत्रे सडकले समेत छोएको छ ।
.png)