पदमसुखी सम्बाहाम्फे
यासोक :पाँचथरको कुम्मायक गाउँपालिकामा मगर समुदायले जागरण अभियान सम्पन्न गरेको छ । नेपाल मगर संघ कुम्मायक समिति द्वारा आयोजित जनजागरण तथा भेटघाट अभियान कार्यक्रम सम्पन्न भएको हो । जहाँ मगर त्यहाँ मगर संघ भन्ने मुल नाराका साथ शुक्रबार भएको सो कार्यक्रममा इतिहासको विभिन्न कालखण्ड देखिनै मगर समुदायलाई एकाधिकारवाद चिन्तनले ग्रसित राज्य सम्यन्त्रले विभेद पुर्ण व्यबहार गरेको बिषयमा अन्तरक्रिया भएको थियो । “हामी रैथाने मुलवासी हौ सबै जातिका नागरिकहरु सचेत हुनु जरुरी छ तसर्थ अब राज्यको शासन सत्ता हातमा लिन बुलेटले होइन ब्यालेट द्वारा मात्र संभव भएको नेपाल मगर संघका महासचिव टेकबहादुर नाम्जालिले बताए । जबसम्म मुलुकको राजकीय बागडोर सन्चालनमा यो देशका मुलबासि नागरिकहरु हिम्मतका साथ सत्तामा पुग्दैनन तबसम्म नेपाल र नेपालीको अवस्था गरिबिकै रेखामुनी रहिरहने उनले भने ।
कार्यक्रममा भौतिक बिकासले मात्रै समृद्धि नआउने भएकोले अब ग्रामीण स्तर बाट नै आफ्नो भाषा लिपि कला सस्कृति र पहिचान प्रती सङ्गठित भएर सचेतना तथा जागरण अभियानलाई तिब्र गति दिनुको विकल्प नभएको आदिवासी जनजाति महासंघ कुम्मायकका सस्थापक अध्यक्ष तारानाथ सम्बाहाम्फे र किराँत याक्थुङ चुम्लुङका केन्द्रिय नि.वर्तमान सदस्य गणेश चेम्जोङले बताए । छोटो समयमै कुम्मायक गाउपालिकामा रहेका मगर समुदायहरु सङ्गठित भएर अघि बढेकोमा नेपाल आदिवासी जनजाति महासंघ कुम्मायक गाउँकार्य समितिका अध्यक्ष दुर्गा बम्जन र किरात याक्थुङ चुम्लुङ कुम्मायकका निवर्तमान सचीव तेजेन्द्र चेम्जोङले शुभकामना व्यक्त गरेका थिए ।
सो समारोहमा नेपाल मगर संघ प्रदेश कार्य समितिले असोज ११ देखि १६ गते सम्म १४ जिल्ला मगर जागरण तथा भ्रमण कार्यक्रमका गर्ने जनाएको छ । कार्यक्रममा केन्द्र, प्रदेश र जिल्लाका सहभागी प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । कुम्मायक गाउँपालिकामा ८० घरधुरी रहेको मगर समुदायका भाषा तथा लिपि प्रवर्द्धनका लागि स्थानीय सरकारले बिधालयमा भाषिक शिक्षक राखेर मगर भाषा लिपि पढाउन सकिने कुम्मायक–१ का वडाअध्यक्ष देवेन्द्र कुमार लावतीले बताए । गाउँपालिकामा रहेका मगर समुदायका बिकास र मौलिक उनीहरुको हकहित तथा भाषा लिपि र सस्कृतिलाई पहिचान गर्दै वडाको आर्थिक सहयोगमा ८ लाख रुपैयाँ रोधिघर निर्माण गर्ने योजना रहेको वडाअध्यक्ष लावतिले भने । उक्त रोधिघर भवन निर्माणकार्यका लागि नेपाल मगर संघका केन्द्रिय सदस्य हरि थापा मगरले पनि ५० हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
खाल्डे सभाहलमा भएको सो कार्यक्रममा नेपाल मगर संघका प्रदेश अध्यक्ष तेजकुमार आले मगर , सचीव पार्वती मगर लगायत केदार राणा मगर र शान्ति आले मगरको पनि उपस्थिति रहेकोे थियो । उक्त जागरण अभियान कार्यक्रम कुम्मायकका मगर संघ कलाकारहरूको सास्कृतिक नृत्य सहित अशोक राणा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

.png)