रमेश थापा
फिदिम: गत असार २ गते राती गएको पहिरोले फालेलुङ गाउँपालिका–३ खोलाघारी सेपीका मनप्रसाद राईको घर बगायो । सोही पहिरोमा पुरिएर घाइते भएकी राईकी नातिनी जुना सावदेनको उपचारका क्रममा मृत्यु भएको । एकातिर परिवारको सदस्य गुमाउनुको पीडा अर्कोतर्फ पहिराले घर बगाउँदा घरवारविहीन बनेका मनप्रसाद राई दम्पत्तिले दशैंको मुखमा नयाँ घर पाएका हुन । जनसेवा समाज पाँचथरको संयोजनमा राई दम्पत्तिका लागि ढुङ्गामाटो, जस्तापाता, काठ र चित्राले बनेको तीन कोठे घर निर्माण भएको हो । नवनिर्मित घर प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसहितका सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा विहीवार हस्तान्तरण गरिएको छ । प्रजिअ मंग्रातीले नवनिर्मित घरको ताला खोलेर राई दम्पत्तिलाई हस्तान्तरण गरेका थिए ।
घर निर्माणका लागि जनसेवा समाजको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक पुण्यप्रसाद अधिकारी, प्रहरी हवल्दार राजेश गौतम र पाथीभरा गृल उद्योगका सञ्चालक हरि लोवाले नगद ३२ हजार ५ सय मूल्यको जस्तापाता, काँटी किला लगायत सामग्री खरीद गरेका थिए ।
यसैगरी नेपाली सेनाको रणशेर गण फिदिमले स्थानीयवासी समेतको सहयोगमा घर निर्माणको कार्य गरेको थियो । सेनाको टोलीले स्वलगानीमा दैनिक १२ जनाका दरले एक साता श्रमदान गरी राई परिवारको घर निर्माण गरेको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । राई दम्पत्तिलाई घर हस्तान्तरण गर्न प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू, नेपाली सेना रणशेर गणका प्रमुख दिलीप राउत, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उपनिर्देशक तुलसी कट्टेल, प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री, जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी, फालेलुङ–४ का अध्यक्ष सन्तवीर राईसहितको टोली राईको घर पुगेको थियो ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी मंग्रातीले नेपाल सरकारले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको घर निर्माण गर्ने कार्यक्रम अघि बढाएपनि सोको कार्यान्वयनपूर्व नै जनसेवा समाजको संयोजनमा घर निर्माण भई हस्तान्तरण हुनु उदाहरणीय प्रयास रहेको बताए । उनले कमजोर आर्थिक अवस्थाका परिवारको घर तथा आवासको ब्यवस्थाका लागि स्थानीय स्तरमा सामूहिक प्रयास गर्नुपर्ने बताए ।
फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले असार पहिलो साता आएको बाढी र पहिराका कारण फालेलुङमा ५ दर्जनभन्दा बढी घर परिवार प्रभावित भएको र ११ घर पूर्णरुपमा विस्थापित भएको वताए । विस्थापित परिवारहरुको अस्थायी आवासको प्रवन्ध, राहत र उद्धारमा जुट्ने क्रममा गाउँपालिकाले सबै काम गर्न नसकिरहेको अवस्थामा राई परिवारको घर निर्माण भई दशैंको सम्मुखमा हस्तान्तरण हुनु सुखद् विषय भएको उनको भनाई थियो । विपन्न अवस्थाका नागरिक, बालबालिका तथा असहायलाई सहयोग गर्दै आएको जनसेवा समाज पाँचथरले दाताहरुको सहयोग तथा सुरक्षा निकाय र स्थानीयवासीको श्रमदानमा आवासविहीनका लागि घर निर्माणका कार्य समेत गर्दै आएको संस्थाका अध्यक्ष अधिकारीले बताए ।
.jpg)
.png)