Comments Add Comment

सहमतिको प्रयासका लागि एमाले पाँचथरको अधिवेशन भोलिसम्मका लागि स्थगित

पाँचथर, २४ पुस सहमतिमा नयाँ नेतृत्व चयन गर्नका लागि नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको जारी अधिवेशनको निर्वाचन कार्यक्रम भोलि विहानसम्मका लागि स्थगित भएको छ । एमाले पाँचथर जिल्ला कमिटीको आठौं अधिवेशनअन्तर्गत हिँजोबाट जारी बन्द सत्रमा राजनीतिक, सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित भएपछि आज दिउँसोबाट निर्वाचन कार्यक्रम सुरु भएको थियो । यस क्रममा मतदाता नामावली प्रकाशनको काम सम्पन्न भएको छ । सहमतिमा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित अधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं पाँचथरका इन्चार्ज वसन्तकुमार नेम्वाङको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले छलफल अगाडि बढाएको छ । यस क्रममा प्रत्येक स्थानीय तहलाई खुल्ला, भूगोल र आरक्षण समूहबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्न चाहनेहरुको सूचि सङ्कलन गर्न लगाइएको छ । यस क्रममा कतिपय स्थानीय तहका प्रतिनिधिहरुले भूगोलबाट निर्वाचित हुने तीन जना सदस्यहरुको नाम टुङ्ग्याएका छन् । कोटाअनुसार नाम नटुङ्गिएका स्थानीय तहका कमिटीले आकाङ्क्षीको सूचि तयार पारेका छन् । सहमतिका लागि प्रयास जारी रहेकाले निर्वाचन कार्यक्रम भोलि विहान ७ बजे सम्मका लागि स्थगित गरिएको एमाले पाँचथरको आठौं अधिवेशनका मूख्य निर्वाचन अधिकृत कृष्णकुमार आङ्देम्बेले जानकारी दिनुभयो ।

पाँचथरमा नेकपा (एमाले) को ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । बन्द सत्रमा अध्यक्ष मण्डलले प्रस्ताव गरेअनुसार ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुन लागेको हो । ७५ मध्ये पाँच जना पदाधिकारी तथा ७० जना सदस्य रहने छन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना तथा उपसचिव दुई जना निर्वाचित हुने छन् । सबै पदाधिकारी खुल्ला क्षेत्रबाट निर्वाचित हुने छन् । सदस्यहरु भने खुल्ला, भूगोल र समावेशी समूहबाट निर्वाचित हुने एमालेका केन्द्रीय सदस्य एवं पाँचथरका इन्चार्ज वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो । जसअनुसार जिल्लाका सात वटा गाउँपालिकाबाट एक जना महिला र दुई जना पुरुषका दरले तीन÷तीन जना सदस्य, दलितबाट एक जना महिला र चार जना पुरुष गरी पाँच जना सदस्य, महिला खुल्लाबाट १५ जना सदस्य, आदिवासी जनजाति खुल्लाबाट ७ जना सदस्य र खुल्ला क्षेत्रबाट १६ जना सदस्य निर्वाचित हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ