Comments Add Comment

संकटमा तमोर खानेपानी, स्थानीय सरकारले संचालन गर्नुपर्ने सुझाव

समितिको १ करोड १६ लाख मध्ये १६ लाख रकम बाँकी, मासिक ३ लाख घाटा, प्राविधि समस्या नभए यो रकमले ६ महिना मात्रै धान्ने । महसुल बढाउने मनस्थितिमा उपभोत्ता समिति ।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित देशकै ठुलो पम्पिंङ प्रणालीको खानेपानी योजना धरासायी बनेको छ। सुख्खाक्षेत्रको यासोक, स्याबरुम्बा र रानीगाउँमा बिगत चार वर्षदेखि संचालन भएको खानेपानी योजना संकटमा परेको हो। खानेपानी योजना संचालनको जिम्मा पाएको उपभोक्ता समितिले खानेपानी योजना धान्न नसक्ने भएपछि खानेपानी योजना संकटमा परेको हो।

उपभोक्ता समितिको खातामा रहेको १ करोड १६ लाख रुपैयाँ मध्ये हाल १६ लाख ८० हजार मात्रै रहेको समितिका कोषाध्यक्ष टंक पौडेलले बताए। प्राविधिक समस्या नआए यो रकमले अब कम्तिमा ६ महिनासम्म खानेपानी संचालन हुने उनको दावी छ। उपकरणमा कुनै पनि समस्या नभए सो अवधिसम्म समितिले संचालन गर्न सक्ने पौडेल बताउँछन्। 
समितिले उपभोक्ताबाट उठ्ने रकम भन्दा मासिक २ देखि ३ लाख रुपैयाँ घाटा व्याहोर्दै आएको छ। खानेपानीको महसुल र कर्मचारीलाई तलब दिदां मासिक १० लाख भन्दा बढि खर्च हुने गरेको छ।  उपभोक्ताले बुझाएको रकमबाट नपुग्ने भएपछि समितिको खाताबाट मासिक २ लाख ५० हजार देखि ३ लाख रुपैयाँसम्म घाटा व्याहोर्दै आएको छ। योजनाको सबै भन्दा ठुलो खर्च विद्युतमा उठ्ने गरेको समितिको दावी छ।

तमोर नदिबाट १७८० मिटर उचाईसम्म पानी पंम्प गर्न दैनिक १८ घण्टा खानेपानी संचालन हुने गरेको छ। जसका कारण समितिले सबै भन्दा बढी मासिक ५ देखि ६ लाखसम्म विद्युत महसुल बुझाउने गरेको समितिका महासचिव जकेन्द्र लावतीले बताए। कर्मचारीको तलव जम्मा २ लाख ७५ हजारसम्म रहेको छ। “हामी समितिमा आएसंगै खानेपानीको ठुलो रकमको बक्यौता उठायौं। विद्युत महसुल घटाउनको लागि गाउँपालिका जिल्ला प्रशासन हुदै सुख्खाक्षेत्र बिभाग र खानेपानी मन्त्रालयमा समेत हारगुहार ग¥यौ। तर अहिलेसम्म सकरात्मक प्रतिकृया पाएका छैनौं लावतीले भने । 

नेपाल सरकारले २०६६ सालमा सुख्खाक्षेत्र घोषणा गरी ५२ करोडको लगानीमा २०७४ सालदेखि खानेपानी योजना अघि बढाएको थियो । पंम्पिङ प्रणालीको देशकै ठूलो आयोजना भएकाले व्यवस्थापन खर्च उपभोक्ताले धान्न नसक्ने अवस्था छ। हालसम्म उपभोक्ता समितिले आफ्नै खाताबाट योजना संचालन गर्दै आएको छ भने गाउँपालिकाले पनि वर्षेनी आर्थिक सहयोग गर्दै आएको छ। उपभोक्ता समितिले यो आयोजना धान्न नसक्ने भएपछि अव गाउँपालिकाले जिम्मा लिएर संचानल गर्नु पर्ने समितिका अध्यक्ष मेघराज निरौलाको तर्क छ। यो आयोजना गाउँपालिकाको भाग्य र भबिष्यसंग जोडिएको आयोजना हो। गाउँपालिकाले समितिलाई आवश्यक सहयोग गर्नुपर्छ । अन्यथा खानेपानी योजना पालिकाले संचालन गर्ने हो भने पनि आफुहरु तयार रहेको निरौलाको भनाइ छ ।  
तमोर पंम्पिङ खानेपानी योजनाका नियमित ग्राहक १४ सय घरधुरी रहेका छन। जसले महसुल बुझाउँदै आएको समितिले जनाएको छ। यता गाउँपालिकाले वर्षेनी समितिलाई सहयोग गर्दै आएको जनाएको छ। गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काका अनुसार समितिले पालिकालाई योजना बुझाउने हो भने त्यस्का लागि पालिकाले केही अध्यायन गर्नु पर्ने हुन्छ। यो वर्ष पनि योजना संचालनको लागि बजेट राखिएको छ। यो विषयमा पालिकामा छलफल गरेर अघि बढ्छौ उनले भने । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ