Comments Add Comment

एसपी बन्न रस्साकस्सी, ७ पदका लागि १२ डीएसपीको दौडधुप

काठमाडौं । नेपालमा प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक पद (एसपी) पदमा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ। मंसिर ५ गते एसपीबाट ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए। 
बढुवा र पद रिक्तपछि प्रहरीमा ७ एसपीको दरबन्दी खाली छ। एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका थिए। 
यसअघि २ जनाको दरबन्दी खाली थियो। अहिले रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको २ वटा दरबन्दी समेत समायोजन गरेर ९ जना बढुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालयको छ। प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त भएको दरबन्दीलाई समेत नेपाल प्रहरीतर्फ ल्याएर ९ जना बढुवा गर्ने प्रयास भइरहेको छ। 
प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिकतर्फको २ दरबन्दी नेपाल प्रहरीतर्फ ल्याउन सहमतिका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ। यस्तै गृहले सहमति दिए लगत्तै बढुवा गर्ने तयारी छ। 
अघिल्लो पटकको बढुवामा छुटेको टोलीलाई यसपालि समेट्नका लागि दरबन्दी मिलान गर्न लागिएको हो । अघिल्लो वर्ष अर्थात्, २०७९ भदौ १२ मा डीएसपीबाट एसपीमा ३० जनालाई बढुवा गरिएको थियो । त्यसमा २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएको टोलीबाट केही छुटेका थिए। कारबाही र विभिन्न कारणले अन्य केही डीएसपीहरू समेत छुटे । यसपालि तिनीहरूलाई समेटेर प्रहरी प्रधान कार्यालयले कार्यक्षमताका आधारमा बढुवा गर्ने तयारी गरेको छ। 
अहिले ७ वटा दरबन्दी थपका नगरेका आधारमा १२ जनाको दौडधुप सुरु भइरहेको  हो । पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे दौडमा देखिएका छन्। 
यीमध्येमा दरबन्दी मिलान नभएको खण्डमा ७ जना बढुवा हुनेछन्। त्यसमध्ये वरिष्ठताका आधारमा ७ जना बढुवा भएमा निरञ्जन भट्टसम्म बढुवा हुने देखिन्छन् । ९ जना बढुवा भएको खण्डमा सन्तोष तामाङसम्म बढुवा हुने देखिएको छ। तर, अहिले सिनियरभन्दा कार्यक्षमतालाई आधार मान्ने तयारी रहेकाले यसमध्ये केही छुट्ने र पछाडिबाट केही आउने सम्भावना पनि छ। अहिले आकांक्षी केहीले आफू निकटका राजनीतिक दलबाट दबाब दिइरहेका छन् ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ