Comments Add Comment

पाँचथरमा एमालेको आठौं जिल्ला अधिवेशन सम्पन्न, भण्डारीको अध्यक्षतामा ९० सदस्यीय कमिटी

पाँचथर, २५ पुष

पाँचथरमा राजकुमार भण्डारीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । एमालेका केन्द्रीय सदस्यहरु र प्रदेश सदस्यहरु रहेको अध्यक्ष मण्डलले प्रस्ताव गरे अनुसार ९० सदस्यीय जिल्ला कमिटी सहमतिमा निर्वाचित भएको हो । हिँजो बन्द सत्रले ७५ सदस्यीय कमिटी गठन गर्ने प्रस्ताव स्वीकृत गरेको भएपनि उक्त कमिटीमा सबै आकाङ्क्षी नसमेटिने भएपनि सङ्ख्या बढाइएको एमालेले जनाएको छ । उक्त कमिटीको उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णुप्रसाद सापकोटा (विमल), उपसचिवमा नरबहादुर गुरुङ र पृथ्वी लावती रहनु भएको छ ।

एमालेका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज वसन्तकुमार नेम्वाङको अध्यक्षतामा रहेको पाँच सदस्यीय अध्यक्ष मण्डलले पदाधिकारी सहित जिल्ला कमिटीका सदस्य तथा जिल्ला परिषदका पदाधिकारी र सदस्यको प्रस्ताव बन्द सत्रमा पेश गरेको थियो । यस क्रममा बन्द सत्रका सहभागी प्रतिनिधिहरुले उक्त प्रस्तावलाई स्वीकृत गरेका थिए । सहभागीको स्वीकृतिपछि प्रस्तावित पदाधिकारी तथा सदस्यले भएको मनोनयन दर्ता गराएपछि सहमतिमा नेतृत्व चयन भएको एमाले पाँचथरको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत कृष्णकुमार आङ्देम्बेले जानकारी दिनुभयो ।

यस्तै एमाले पाँचथरका निवर्तमान उपाध्यक्ष एवं हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनको अध्यक्षतामा एमाले पाँचथरको ५१ सदस्यीय जिल्ला सल्लाहकार परिषद गठन गर्ने प्रस्ताव समेत बन्द सत्रले पारित गरेको छ । उक्त परिषदमा जिल्ला कमिटीमा नपरेका अगुवा नेताहरु, विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका पार्टीसँग आवद्ध ब्यक्तिहरु तथा जेष्ठ कम्युनिष्ट नेताहरु समावेश भएका छन् । नवनिर्वाचित कमिटीलाई एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नेम्वाङ, केन्द्रीय सदस्य एवं सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू सहितका नेताहरुले अबिर माला सहित बधाई ज्ञापन गरेका छन् । शुक्रवार सुरु भएको एमाले पाँचथरको अधिवेशनमा ६०७ जना प्रतिनिधिहरु सहभागी थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ