मनोज थापा
पाँचथर-कार्यसम्पादन मूल्याङ्कनमा पाँचथरको याङ्वरक गाउँपालिका ४८.२६ अंक सहित कोशी प्रदेशमा दोस्रो भएको छ। कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये याङवरक गाउँपालिका दोस्रो भएको हो।
कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ४८.३१ अंक प्राप्त गरी पहिलो भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका ४६.८७ अंकसहित तेस्रो भएका छ।
यस्तै, ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४६.०३ अंक सहित चौथो, सुनसरीको इनरुवा नगरपालिका ४५.३३ अंक सहित पाचौं भएका छन् । इनरुवा नगरपालिका प्रदेशभरका नगरपालिकामध्ये उत्कृष्ट भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमै पहिलो बनेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/गरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे/नगरेको जस्ता सूचकहरूका आधार मुल्यांकन गरिएको छ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन् ।

कार्यसम्पादन मूल्याङ्कन वापत अङ्क सम्बन्धी विवरण
.png)