पाँचथर- पाँचथरको फिदिम नगरपालिका–१० पच्चिसेका विपन्न परिवारलाई जनसेवा समाज पाँचथरको समन्वयमा खाद्यन्य र लत्ताकपडा बितरण गरेको छ। आर्थिक अवस्था कमजोर भएका ६ घर परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएकोे हो।
कमजोर आर्थिक अवस्थाका ६ घर परिवारलाई गत फागुन १ गते फिदिममा साङ्गितिक कार्यक्रम आयोजना गरेको संस्थाले खाद्यान्न वितरण गरेको छ भने जिल्ला प्रशासन कार्यालय पाँचथरले न्यानो कपडा वितरण गरेको हो। साङ्गितिक कार्यक्रमका आयोजकले रु. ३३ हजार ५८५ रकम बराबरको चामल, चिउरा, दाल लगायत सामग्री उपलब्ध गराएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए। यस्तै जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रत्येक परिवारलाई एक/एक वटा ब्ल्याङ्केट उपलब्ध गराएको छ।
विहिवार एक कार्यक्रमका बीच सामग्री वितरण गर्दै फिदिम नगरपालिका–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङले आर्थिक अवस्थाका कारण समस्या रहेका परिवारलाई वडा कार्यालयले समुचित सहयोग गर्न नसकिरहेको अवस्थामा दाताहरुले सहयोग गरेको भन्दै प्रशसा गरे।
साङ्गितिक कार्यक्रमका आयोजक मिलन विश्वकर्माले साङ्गितिक कार्यक्रम आयोजनापूर्व गरेको प्रतिवद्धताबमोजिम सहयोग उपलब्ध गराइएको वताए । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुरेश अधिकारीले नागरिक संघ संस्थासँग मिलेर प्रशासनले नागरिकको दुःख र समस्यामा साझेदारी गर्दै आएको वताए।
कार्यक्रममा साङ्गितिक कार्यक्रमका आयोजक कुमार गुरागाँई र राधिका थापा सहित स्थानीयवासीको सहभागिता थियो। कार्यक्रम आयोजना गरेको संस्था जनसेवा समाज पाँचथरका अध्यक्ष अधिकारीले आफ्नो संस्थाले पुलका रुपमा दाता र समस्यामा परेका नागरिकलाई जोड्ने काम गर्दै आएको वताए।
.png)