रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–१ का महिला उद्यमीलाई ढाका बुन्ने तान वितरण गरिएको छ। बिहिवार वडाको खाल्डेमा ढाका कपडा बुनाई तालिममा सहभागी ९ जना उद्यमी महिलाहरुलाई प्रमाण पत्र सहित ढाका बुन्ने तान बितरण गरिएको हो।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत ४५ दिने ढाका कपडा बुनाई तालिमका सहभागिहरुलाई गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का र वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले प्रसंशा पत्र सहित तान हस्तान्त्रण गरेका हुन। पुष २२ गतेदेखि संचालन भएको तालिमका सहभागीहरुलाई ढाका कपडाका सामाग्री उत्पादन गर्न र ढाकाका बिभिन्न सामाग्री बुन्न प्रयोग गरिने तानको बारेमा सिप सिकाएको सहजकर्ता योगिता सम्बाहाम्फेले बताइन्। तालिममा सिकेका ज्ञान, सिप र प्रविधिलाई समुदायमा सहि रुपमा प्रयोग गरी उद्यमी बन्न कार्यक्रमका प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले सुझाव दिए । उनले उद्यमीले उत्पादन गरेका कच्चापर्दाथको बजारीकरण गाउँपालिकाले गर्ने भएकाले ढुक्क भएर ढाका कपडाको सामाग्री उत्पादन गर्न आग्रह गरे ।
गत वर्ष पनि सोही स्थानमा ढाका कपडा बुनाइ तालिम आयोजना गरिएको भन्दै त्यसैलाई निरन्तरता दिएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । वडामा रोजगारीको अवसर प्रदान गर्ने उदेश्यले तालिमको आयोजना गरेको भन्दै तालिममा लिएका ज्ञान र सिपबाट सफल उद्यमी बन्न लावतीले सुभकामना दिए । उनले उद्यमीले उत्पादन गरेको सामाग्रीको उचित व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बचन समेत दिएका थिए ।
.png)