फिदिम- समाजमा देखिएका विभिन्नखाले बेथिति हटाउन युवा पुस्ताले संगठित अभियान चलाउनु पर्नेमा नेताहरुले जोड दिएका छन्।
सबै चुपचाप हुँदा विशेषत स्थानीय तहहरुमा बढ्दो भ्रष्टाचार, कुशासन र बेथितिले संस्थागत रुपमा मौलाउने अवसर पाएकाले बेथितिविरुद्ध युवा पुस्ताले सशक्त कदम चाल्नु पर्नेमा जोड दिइएको हो। राष्ट्रिय युवा संघ नेपाल फालेलुङ गाउँपालिकाको तेश्रो अधिवेशनलाई शनिवार सम्बोधन गर्दै नेकपा (एमाले) का नेताहरुले युवा पुस्ताले समाज, राष्ट्र र पार्टी समेत कहिँकतै विसङ्गति देखिए त्यसको प्रतिवादन गर्नु पर्नेमा जोड दिनुभएको हो।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले स्थानीय तहहरुले आयस्तर अत्यन्तै कमजोर भएको र जनतामाथि करमाथि कर थोपरेका विरुद्ध युवा पुस्ता सशक्त भएर लाग्न आग्रह गर्नुभयो। “स्वदेशमा रोजगारी छैन् । कृषि उपजले बजार पाएको छैन्। विकास निर्माण ठप्प छ। आम नागरिकले आर्थिक मन्दीको चपेटामा हुनुहुन्छ”, भण्डारीले भन्नुभयो, “स्थानीय सरकारहरु भने यो वा त्यो नाममा करका दर र दायरा बढाउँदै जनताको ढाड सेक्न उद्दत देखिन्छन्।”
जनताले कुनै सुविधा नपाउने तर राज्यका निकाय र अङ्गले कर बढाउने, विकास निर्माणलाई कार्यकर्ता केन्द्रीत गर्ने, एमालेलाई योजना निर्माणदेखि कार्यान्वयनसम्म निषेध गर्नेजस्ता प्रवृत्तिविरुद्ध लाग्न उहाँले आग्रह गर्नुभयो। “अव युवा पुस्ताले सबैखाले बेथितिविरुद्ध आवाज उठाउनु, वैधानिक बाटोबाट प्रतिवाद गर्नु र नागरिकले न्याय पाउने अवस्था निर्माणमा लाग्नुपर्छ”, भण्डारीले भन्नुभयो।
उहाँले पछिल्लो सरकार परिवर्तनले मुलुकमा केही आशाको सञ्चार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अवस्थालाई गम्भीरताका साथ लिई सहकार्यलाई जनताको हितमा उपयोग गर्नुपर्ने वताउनुभयो।
नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष विस्नुप्रसाद सापकोटा (बिमल) ले युवा पुस्ताले समाज र राज्यका निकायमा भएका विसङ्गतिसँगै पार्टीमै कुनै बेथिति भए खवरदारी गर्नुपर्ने वताउनुभयो। बेरोजगारी, युवा पलायन, बसाइसराईजस्ता कारणले गाउँघर खाली हुँदै गइरहेको अवस्थामा स्थानीय तहहरुले युवा पुस्तालाई गाउँमै बस्ने वातावरण तय गर्न ठोस् कदम चाल्नुपर्नेमा जोड दिँदै सापकोटाले यसमा युवा पुस्ताले आवाज उठाउनुपर्ने वताउनुभयो।
कोशी प्रदेश सभाका पूर्व सदस्य आशारत्न जबेगूले संसारका धेरै विचारक र क्रान्तिकारी नेताहरु युवा उमेरमै सफल भएका उदाहरणबाट पाठ सिकेर युवा पुस्ताले आफ्ना गतिविधिलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका उपसचिव एवम् युवा फाँट इन्चार्ज नरबहादुर गुरुङले युवा पुस्तासँग चुपचाप बस्ने अवस्था नरहेको भन्दै राष्ट्रिय युवा संघ नेपालले सबै युवाहरुको नेतृत्व गरेर समाज रुपान्तरण र बेथितिविरुद्ध उठ्नुपर्ने वताउनुभयो ।
नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका उपसचिव एवम् जनसंगठन समन्वय संयन्त्रका प्रमुख पृथ्वी लावतीले पार्टीमा युवा पुस्ताको प्रतिनिधित्व सुरक्षित भइसकेकाले युवा पुस्ता वैचारिक, ब्यवहारिक र सिर्जनशील भएर अघि बढ्न सुझाव दिनुभयो ।
नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका सचिवालय सदस्य एवम् फालेलुङ गाउँपालिकाका इन्चार्ज जयप्रकाश केरुङले फालेलुङ गाउँपालिकामा बढ्दो बेथिति, अनावाश्यक करको दर निर्धारण, कार्यकर्तालाई योजना वितरण गर्ने प्रवृत्ति, बाढी पहिरो प्रभावितप्रति गाउँपालिकाले गरेको वेवास्ताका विषयमा सशक्त आवाज उठाउन आव्हान गर्नुभयो । उहाँले नागरिकको हित र न्याय हुने विषयमा आवाज उठाउन कोही पनि पछि पर्न नहुनेमा जोड दिनुभयो ।
उक्त अधिवेशनको उद्घाटन कार्यक्रमलाई नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका सचिवालय सदस्य राजु थाम्सुहाङ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव कृष्णराज तुम्रोक (श्याम), एमाले जिल्ला कमिटी सदस्य पनिता राई, एमाले फालेलुङ अध्यक्ष नन्दकुमार आङथुपो, सचिव पुष्प तिम्सिना, युथ फोर्सका केन्द्रीय सदस्य खगेन्द्र राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका कोशी प्रदेश सदस्य गीता खत्री, राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष मदन लावती, नेपाल वुद्धिजिबी परिषद पाँचथरका सचिव जेबी चाम्लिङ लगायतले समेत सम्बोधन गर्नुभएको थियो ।
फालेलुङ गाउँपालिका–३ मच्छेबुङका आयोजित सो कार्यक्रममा फालेलुङ–६ बाट नेपाली काँग्रेस परित्याग गरी दीपज्योति राई, ज्योति राई, जयन्द्र राई लगायत एमालेमा प्रवेश गरेको युथ फोर्सका केन्द्रीय सदस्य खगेन्द्र राई जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन कार्यक्रम राष्ट्रिय युवा संघ फालेलुङका अध्यक्ष तीर्थ राईको अध्यक्षतामा सम्पन्न भएको थियो । तेश्रो अधिवेशनले महेश राईको अध्यक्षतामा ३२ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । नवगठित कमिटीको उपाध्यक्ष शङ्कर काफ्ले, सचिवमा टइन्द्र खत्री, सहसचिवमा शरण राई र अस्मित राई तथा कोषाध्यक्षमा पुष्पा न्यौपाने चयन हुनुभएको राष्ट्रिय युवा संघले जनाएको छ ।

.png)