Comments Add Comment

कुम्मायक गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

रमेश थापा
पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउँपालिकाको सभाहलमा कार्यालयले एक कार्यक्रमको अयोजना गरी कुम्मायक गाउँपालिकालाई जिल्ला समन्वय समिति प्रमुख रामराज आङ्देम्बे र गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन । गाउँपालिकाको ५ वटै वडालाई पूर्णखोप सुनिश्चितताको लागि प्राप्त तथ्याङ्क र सूचकको आधारमा पूर्णखोप सुनिश्चितता गरिएको गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए । 
कुम्मायकको १६ देखि ५९ महिनासम्मका ८६२ बालबालिका र १५ महिना मुनीका २२८ जना बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चित गरिएको अध्यक्ष लावतीको भनाइ छ। पूर्णखोप सुनिश्चितताको लागि गाउँपालिकाका २ हजार ५ सय घरधुरीका ११ हजार ८८२ जनसंख्याको लक्षित समुहका बालबालिकाहरुको तथ्यांक संकलन गरी सबै प्रकारका खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले बताए। 
सोही अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेज बहादुर तुम्बापोले स्वास्थ्य क्षेत्रको सुधारको लागि स्थानीय तहको भूमिका महत्वपूर्ण भएकाले पूर्णखोप सुनिश्चितताको लागि खटिने जनप्रतिनिधि र स्वास्थ्यकर्मीको प्रशंसा गरे। कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न खटिने स्वायमसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यस अघि फिदिम नगरपालिका, हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरी सकेका छन्। जिल्लाका आठ स्थानीय तह मध्ये कुम्मायक गाउँपालिकालाई पाँचौ पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ