युद्धबहादुर बोहोरा
घुर्बिसे पञ्चमीः इलाम पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा एक हप्तासम्म लाग्ने सेहोनाम्लाङ औधोगिक तथा पर्यटन साँस्कृतिक महोत्सव सोमबारदेखि संचालन हुने भएको छ। चैत्र २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म नयाँ वर्षको अवसरसंगै लाग्ने महोत्सवलाई कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जबेगुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उक्त महोत्सवका लागि आयोजक समितिले सम्पूर्ण पूर्व तयारी गरिसकेको समिति अध्यक्ष डिएम आङदेम्बे (देउमान) ले जानकारी दिए। खेलकुद,साँस्कृतिक कार्यक्रम ,स्थानीय उत्पादित कृषि जन्य वस्तुहरुको बिक्री वितरण तथा अर्गानिक रैथाले खानाहरुसहित विभिन्न स्टलहरुको समेत व्यवस्थापन गरिएको जनाइएको छ।
कुम्मायक,मिक्लाजुङ र फाल्गुनन्दको सिमानामा रहेको सेहोनाम्लाङ (छाला सुकुवा) को नामबाट महोत्सवको नामकरण गरिएको भएता पनि फाल्गुनन्द भित्र रहेका केसामी नामसामी र युमा माङ्हिमको पनि अध्ययन,अवलोकन गरिने भएको छ। यसैगरी, घुर्बिसे पञ्चमी नजिकै फाकफोकथुम १ मा रहेको पाँच पाँण्डव धारा, वडा नम्बर ३ मा रहेको ज्ञानदिलदास जन्म स्थलको पनि अवलोकन गरिने जनाइएको छ। इलाम र पाँचथरका सिमानामा रहेका सिद्धदेवी (पुधामलुङ), नाम्तोक (सुर्योदय देखिने) डाँडा,फुङ्सेङ लगायतलाई समेटेर ओझेलमा परेका स्थलको प्रचारप्रसार तथा प्रवर्धन गरेर पर्यटकको आकर्षण बढाउने उदेश्य साथै संस्कृति प्रवर्धन मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ। महोत्सव आयोजना गर्न फाल्गुनन्द,मिक्लाजुङ,कुम्मायक र इलामको फाकफोकथुम गाउँपालिका,विदेशमा रहेका नेपाली तथा स्थानीयबासी र स्वदेशमा रहेका दाताहरुको सहयोगमा यस क्षेत्रमा पहिलो पटक आयोजना गरिएको बहुदेश्यीय महोत्सवमा अधिकाँश मानिसहरुको बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ।
.png)