Comments Add Comment

पाँचथरबाट रेडियो नेपालको एफएम परीक्षण प्रसारण सुरु

सुरेन्द्रमणि त्रिपाठी/रेडियो नेपाल

काठमाण्डौँ. २४ पुस

रेडियो नेपालले पाँचथरकाे सिलौटी डाँडामा स्थापित एफ.एम. रिले स्टेशनबाट आजदेखि परीक्षण प्रसारण सुरु गरेको छ ।

एफ.एम. ब्याण्डमा आफ्नो प्रसारण पहुँच विस्तार गर्ने उद्देश्यले रेडियो नेपालले सिलौटी डाँडामा २ किलोवाट क्षमताको एफ.एम. ट्रान्समिटर जडान गरि परीक्षण प्रसारण सुरु गरेको हो । नेपाल टेलिकमकाे टावर र अन्य भाैतिक संरचना प्रयोग गरि सो एफ.एम. रिले प्रसारण आरम्भ गरिएको हो । 

एफ.एम. ब्याण्डको ९८ मेगाहर्जमा सुरु गरिएको प्रसारणबाट रेडियो नेपालको प्रसारण पाँचथर जिल्लाका साथै आसपासका जिल्लाहरूमा समेत सुन्न सकिने भएको जडान टोलीका संयोजक समेत रहनुभएका रेडियो नेपालका उपनिर्देशक रामपुकार रामले जानकारी दिनुभयो ।

यससँगै रेडियो नेपालका एफ.एम रिले स्टेशनको सङ्ख्या २८ पुगेको छ । 

नेपाल सरकारको १५ औँ योजनाको अन्त्यसम्ममा देशका सबै भू–भागमा रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने लक्ष्य रहेकाले रेडियो नेपालले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार प्रसारण पहुँच नपुगेका अन्य स्थानहरूमा पनि रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने गरी कार्य गरिरहेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो । 

कार्यकारी निर्देशक केसीले देशका सबै जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुर्‍याउनु रेडियाे नेपालकाे दायित्व रहेकाले नेपाल सरकारको सहयोगमा यस दायित्वलाई पुरा गर्दै जाने पनि बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार हाल रेडियो नेपालको प्रसारण पहुँच कूल जनसङ्ख्याको ९१ प्रतिशत रहेको छ । 

एफ.एम. रिले स्टेशन पाँचथरको परीक्षण प्रसारणलगायत एफ.एम.जडान कार्यका लागि उपनिर्देशक रामपुकार रामको नेतृत्वमा प्राविधिक तर्फका रामकाजी आचार्य, इन्द्र कुमार बहरखेर, टोपराज पुरी, रामप्रकाश महतो र प्रशासकीय अधिकृत बद्री ढकाल सहभागी रहनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ