भगवती लामा
नुवाकोट, ७ माघ : म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ ।
विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिनुहुन्छ । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउनुहुन्छ ।
“उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक रु एकलाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले रु ५० हजार आम्दानी हुन मुस्किल छ”, उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठूलो राहत पुग्ने गरेको छ । महोत्सबबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको याद सम्झदा पनि आनन्द लाग्छ ।”
कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आइ राख्नुभएको छ । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ । उद्योग सञ्चालन गर्नुको साथै उहाँ नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्नुहुन्छ । रजनी हस्तकला उद्योगबाट उत्पादित कुसन गुडिया हो ।
उहाँले भन्नुभयो, “जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।” मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह÷जागर थपिदिन्छ ।
विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । विसं २०७२ मा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन गर्नुभएको ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रुपमा परिचित गराएको हो । “व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो । बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो”, उहाँले भन्नुभयो, “साना ठूला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न प¥यो तपाईको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ । हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ।”
सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र
‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य सङ्घ सातौँ महोत्सवको तयारीमा जुटेको छ ।
यही माघ २७ देखि फागुन १०गतेसम्म महोत्सव सञ्चालन हुने भएकाले आवश्यक पूर्वतयारीमा नुवाकोट उद्योग वाणिज्य सङ्घ जुटेको हो । जिल्लामा आर्थिक रुपले लगानीमैत्री वातावरण सिर्जना गरी बाह्य लगानीलाई आकर्षण गराउने उद्देश्यले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । विदुर नगरपालिका–५ स्थित पिपलटारमा हुने महोत्सव अघिल्लोभन्दा पृथक रहने अध्यक्ष कार्कीले बताउनुभयो ।
महोत्सव तयारीको लागि मूल समारोहको संयोजकसहित विभिन्न ३० उपसमितिको संयोजक चयन गरिएको हो । जिल्ला समन्वय समिति नुवाकोट र जिल्लाको १२ वटै स्थानीय तह सहआयोजनामा हुने महोत्सवको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल पर्यटन बोर्ड रहेको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसिमितिका संयोजक एवं सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिनुभयो । महोत्सवलाई मनोरञ्जनात्मक, व्यवस्थित र बाल उद्यान तथा स्टल निर्माणको लागि नारायणी फेयर एक्जिवेशन नेपाल प्रालिसँग सम्झौता भइसकेको प्रवक्ता राजभण्डारीले जानकारी दिनुभएको हो । महोत्सवमा तीन सय स्टल रहनेछ । महोत्सवमा ज्येष्ठ नागरिक, आपाङ्गता भएका व्यक्ति र असहायलाई पूर्ण छुटको व्यवस्था रहेको प्रवक्ता सविन राजभण्डारीले भन्नुभयो ।
महोत्सवमा रु २० करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । करिब सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब रु २० लाख मुनाफा हुने अपेक्षा गरिएको सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । ---
.png)