रमेश थापा
पाँचथर : पाँचथरको फिदिम नगरपालिका ५ स्थीत मुङग्रेडाँडाको जंगलमा सुकमाया तुम्बापोको छाप्रो घर थियो। त्यही छाप्रोमा लामो समयदेखी कष्टकर जीवन बिताउँदै आएकी सुकमायाले नयाँ घर पाएकी छन्। नाबालक छोराछोरीसंग बस्दै आएकी सुकमाया तुम्बापोलाई जनसेवा समाज पाँचथरले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ। समाजको समन्वय र पहलमा सुकमायाको परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएकोे जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए।
उनको घर बनाउन फिदिम नगरपालिका ४ घर भइ हाल बेलायतमा बस्दै आएकी सुक्मिता केरुङले आफ्ना स्वर्गीय पिता केहेरमान केरुङको स्मृतिमा ४० हजार रुपैंया सहित श्रमिक खर्च उपलव्ध गराएकी थिइन।
फिदिम नगरपालिकाले घरमा आवश्यक पर्ने जस्तापाता र काँटी उपलब्ध गराएको थियो। भने ५ नं. वडाले काठपात र जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) हरि खतिवडाले सिलिङ हाल्न आवस्यक सामग्री उपलव्ध गराएको अधिकारीको भनाइ छ।
सुकमाया यसअघि २ छोरी, ४ छोरा र आफु सहित ७ जना सदस्य चोकमागु स्थित मुङग्रे डाँडाको जंगलमा रहेको छाप्रोमा बस्दै आइएकी थिइन। उनको पतिको निधन भएपछि बिचल्लीमा परेका तुम्बापो परिवारका सदस्य नयाँ बनाएको घरमा बस्न थालेका छन ।
जनसेवा समाजले आर्थिक रुपमा बिपन्न र अपाङ्गता भएका नागरिकको घर निर्माण गर्दै आएको छ। दाताहरुको समन्वयमा हालसम्म ५४ वटा घर निर्माण गरी हस्तान्त्रण गरिसकेको समाजले जनाएको छ।

.png)