रमेश थापा
पाँचथर— पाँचथरको कुम्मायक गाउँपालिकाका दुई कर्मचारीले पदबाट राजिनामा दिदै चुनावी मैदानमा होमिएका छन । शिक्षक र इन्जिनियरिङ पेशा छोडेर नेकपा एमालेबाट वडाअध्यक्षको पदमा उमेद्धवारी दिएका हुन । शिक्षक पेशा छाडेका निर्मलराज घिमिरे कुम्मायक ५ बाट वडाअध्यक्षको लागि चुनावी मैदानमा छन । त्यस्तै असिस्टेन सव—इन्जिनियरबाट राजिनामा बुझाएर कुम्मायक—४ बाट वडाअध्यक्ष पदमा फगेन्द्र कुमार सम्बाहाम्फे चुनावी मैदानमा छन ।
घिमिरे कुम्मायक गाउँपालिका १ नं. वडाको खाल्डे मा.वि. का सहायक प्रधानाध्यापक थिए । उनले २१ वर्ष लामो शिक्षण पेशा छोडेर कुम्मायक—५ बाट वडाअध्यक्ष पदमा उमेद्धवारी दिएका हुन । वडावासीलाई कृषिक्षेत्रबाट आत्मनिर्भर बनाउदै समृद्ध वडा निर्माण गर्न आफुले उमेद्धवारी दिएको उनको भनाइ छ ।
त्यसै गरी असिस्टेन सव—इन्जिनियर क्षेत्रबाट राजनीतिमा होमिएका सम्बाहाम्फे तत्कालिन जिल्ला विकास समिति हुदै कुम्मायक गाउँपालिकामा कार्यरत थिए । सम्बाहाम्फेले २३ वर्षे लामो जागिरे जीवन छोडेर कुम्मायक—४ को वडाअध्यक्ष पदमा उमेद्धवारी दिएका हुन । उनले कृषि, खानेपानी, विद्युत र यातायात क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर वडावासीको जीवनस्तर उठाउने प्रतिवद्धता जनाउदै आएका छन ।
.png)