यासोक—पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले पदभार ग्रहण गर्नु भएको छ । सोमवार गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुको शपथ तथा पदभार ग्रहण कार्यक्रममा उनले पदभार गरेका हुन । गठबन्धनका साझा उमेद्धवार बनेका नेपाली कांग्रेसका लावतीले एमालेका भीम प्रसाद सम्बाहाम्फेलाई १५७ को मत अन्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा लावती निर्वाचित भएका थिए ।
पहिलो पटक पदभार ग्रहण गर्दै लावतीले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । उनले पाटी गत स्वार्थ भन्दा माथी उठेर गाउँपालिकामा स्वास्थ्य विमाको कार्यक्रमलाई प्रभावकारी बनाउने, विपत व्यवस्थापनको लागि पूर्व तयारी गर्ने, खानेपानीका स्थानीय साधन र श्रोतको संरक्षण गर्दै तमोर लिफ्ट खानेपानीलाई व्यवस्थापन गर्ने लगायतको कामलाई पहिलो प्राथमिकता दिने बताए ।
नेकपा एमालेको पकड मानिएको गाउँपालिकामा तीस वर्षपछि कांग्रेसले पहिलो पटक पालिकाको नेतृत्व सम्हालेको हो । तर बहुमत सदस्य एमालेको हातमा परेको छ । एमालेको तर्फबाट तीन वटा वडाबाट १५ सदस्य निर्वाचित भएका छन् । भने गठबन्धनबाट अध्यक्ष, उपाध्यक्ष र दुई वडाअध्यक्ष सहित १२ सदस्य निर्वाचित भएका छन ।
.png)